‘समृद्धिका लागि सूचना प्रविधिको उच्च प्रयोग अपरिहार्य’

काठमाडौं । सरकार र निजी क्षेत्रका प्रतिनिधिहरूले मुलुकको आर्थिक समृद्धिका लागि सूचना प्रविधिको उच्च प्रयोग अपरिहार्य रहेको बताएका छन् ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको पहिलो ‘इन्डस्ट्री गभर्मेन्ट डाइलग’ कार्यक्रमका सहभागी मन्त्री, सूचना प्रविधि विज्ञहरू र निजी क्षेत्रका प्रतिनिधिहरूले सूचना प्रविधिको उच्चतम अभ्यासले नै सुशासनसहितको समृद्धि हासिल हुने धारणा राखेका हुन् ।

कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योग, व्यवसाय क्षेत्रको विकास र डिजिटाइजकै लागि सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ अवधारणा कार्यान्वयनमा ल्याएको बताए ।

उनले भने, ‘सरकारले अगाडि सारेका नितिहरुमा के ग्याप छ, के अपुर्णता छ, नितिगत प्रबन्धका कार्यान्वयनका बारेमा चालेका कदमहरुमा कहांनिर अपुग छ त्यसका निमित्त के गर्नुपर्ला ? कस्ता नितिहरु लिनु पर्ला ? म क्यानको नेतृत्वलाई भन्न चाहन्छु,नवराज कुँवरजीलाई भन्न चाहन्छु, संस्थागत रुपमा, ब्यबस्थित सुझाव लिएर आउनुस, हामी संचार मन्त्रालय, अर्थ मन्त्रालय आमने(सामने बसेर छलफल गर्न तयार छौं ।’

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि दक्ष जनशक्ति उत्पादन र उत्पादित जनशक्तिको क्षमता अभिवृद्धि गर्नुपर्ने धारणा राखे ।

‘जसरी मोबाइल एउटा कल्चर बनिसक्यो, त्यसैगरी आईसीटी कल्चरको विकास गर्नुपर्छ, त्यसका लागि डिजिटल लिटरेसी पनि आवश्यक छ’ उनले भने, ‘छोटो अवधिमा निजी क्षेत्रबाट जे भइरहेको छ, यो अत्यन्तै सराहनीय छ, सूचना प्रविधि उद्योगले प्राप्त गरेको ‘गुडविल’ र नाफा दुवैको पुनः प्रयोगका लागि सरकार नीतिगत रुपमा अघि बढिसकेको छ ।’

क्यान महासंघका अध्यक्ष नवराज कुँवरले लकडाउनको समयमा अभ्यास भएको वर्क फ्रम होम र एजुकेसन फ्रम होमले सूचना प्रविधिको महत्व दर्शाएको बताए ।

‘अहिलेको विषम परिस्थितिले अधिकांश आर्थिक कारोबार र व्यवसाय अनलाइनबाटै गर्न सकिन्छ भन्ने मान्यता स्पष्ट पारेको छ’, उनले भने, ‘तथापि सरकारले सूचना प्रविधि उद्यमलाई प्राथमिकता दिन नसकेको महसुस भइरहेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here