केपी ओली प्रचण्ड-माधव समूहको कारबाहीमा, अध्यक्षबाट हटाइयो

काठमाडौं, ७ पुस । प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेकपाको अध्यक्षबाट हटाउने निर्णय गरेको छ।

मंगलबार कार्की बैंक्वट बबरमहलमा बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अनुशासनको कारबाही स्वरुप अध्यक्ष पदबाट हटाएको हाे । केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली सच्चिएर आए फेरि पनि पार्टीमा स्वागत गर्न तयार रहेको बताए ।

उनले भने, ‘केपी ओलीले राष्ट्र, जनता, पार्टीलाई घात भयो भनेर आउनुभयो भने हामी उहाँलाई स्वागत गर्छौं । गल्ती भयो, मैले गल्ती गरेँ, म पश्चाताप गरेर आउन तयार छु भनेर आउनुभयो भने म अहिले पनि स्वागत गर्न तयार छु ।’

उक्त बैठकमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३१५ भन्दा बढी सदस्य सहभागी थिए । ३१५ जना केन्द्रीय कमिटीका सदस्यले ओलीलाई हटाउने निर्णय सर्वसम्मतरुपमा गरेका थिए ।

ओलीले निरन्तर पार्टीका कार्यक्रम, नीति, सिद्धान्त, जनताका अपेक्षाको अवज्ञा गर्दै आएको पारित प्रस्तावमा उल्लेख छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि पुस ५ गतेकै पार्टी स्थायी समिति बैठकले उनलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो । सोही प्रस्तावमाथिको छलफलपछि उनलाई अध्यक्षबाट हटाउने निर्णय भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here