१४ हजारले पाए कोरोना बीमा भुक्तानी, ७२ जनाले नपाउने

काठमाडौं, ८ पुस । कोरोना बीमा भुक्तानी नपाएको भन्दै गुनासो बढिरहेको बेला कोरोना बीमा भुक्तानी पाउनेको संख्या बढेको छ ।

बीमा समितिको तथ्याङ्क अनुसार मंगलबारसम्म २६ हजार ५ सय ९७ जनाको दाबी माग गरिएकोमा १४ हजार १८४ जनाले भुक्तानी पाएका छन् ।

त्यस बापत हालसम्म एक अर्ब ३८ करोड ४८ लाख ७५ हजार रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयले पनि पटक–पटक ताकेका गरिरहे पनि कोरोना बीमा भुक्तानीमा ढिलाईको कारण बीमित नै रहेको देखिएको छ ।

१ हजार ८ सय ९२ जनाको फाइल कागजात नपुगेको भन्दै सम्बन्धित कम्पनीमै फिर्ता पठाएको समितिले जनाएको छ । फिर्ता पठाइएका फाइलहरुको आवश्यक कागजात पुरा गरेर पुनः पेश गर्न भनिएको छ ।

बीमा कम्पनीहरूले मापदण्डबाहिर रहेर भुक्तानी दिन नमिल्ने भएकाले ढिला भएको भन्दै सबै कागजात पेस गर्न अनुरोध गरेको छ । दोहोरो बीमा दावी गर्ने ७२ जनाको फाईल बीमा दावी भुक्तानी नपाउने गरी फाईल क्लोज गरिएको छ ।

उनीहरुले दावी भुक्तानीको लागि एउटा कम्पनीबाट कागजात पेश गरिसकेको अवस्थामा पुनः दोस्रो पटक पनि दावी भुक्तानीको लागि कागजात पेश गरेकोले दावी भुक्तानी नदिने निर्णय गरिएको बीमा समितिले जनाएको छ ।

तथ्याङ्क अनुसार तीन हजार १११ वटा फाईल स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा रोकिएको छ । त्यहाँ प्रमाणिकरण हुन नसकेपछि रोकिएका हुन् । ३ हजार २ सय ६७ फाईल प्रमाणिकरणको लागि रहेका छन् ।

बिमालेख खरिद गरेका बिमितहरुले दाबी भुक्तानीका लागि कोरोना बीमा मापदण्ड, २०७७ ले तोकेका सम्पूर्ण कागजातसहित सम्बन्धित बिमा कम्पनीमा निवेदन दिनुपर्ने र सम्बन्धित कम्पनीले सबै कागजात पूरा भए/नभएको यकिन गरी कागजात पूरा भएका फाइलको भुक्तानीका लागि बीमा पुल व्यवस्थापक कम्पनीमा पठाउनु पर्नेमा केही फाइलमा कागजात पूरा नभएकोले बिमाको दाबी भुक्तानीमा ढिलाइ भएको समितितको भनाइ छ।

समितिले सबै निर्जीवन बीमा कम्पनीहरुलाई दाबी भुक्तानीमा सबै कागजात हेरी रुजु गरेर मात्र पठाउन निर्देशनसमेत दिएको छ।

हाल कोरोना बीमामा बीमितहरुको उल्लेख्य सहभागिता भएपनि सो बीमा दाबी भुक्तानी भने बीमितको अपेक्षा अनुसार हुन सकेको छैन । बैशाखको पहिलो सातादेखि संचालनमा आएको कोरोना बीमामा भदौ अन्तिम सातादेखि मोडेल परिवर्तन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here