‘गफले देश चल्दैन ओली ज्यू ! खोइ पानी जहाज, खोइ घरघरमा ग्यास पाइप’ ?

काठमाडौं, १४ पुस । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमका कारण आफूहरु सडकमा आउन बाध्य भएको बताएका छन् ।

राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै ओलीजस्ता तानाशाहले संविधान र लोकतन्त्रमाथि प्रहार गरे त्यसैले सडकमा आउन बाध्य भएका बताएका हुन् ।

खनालले प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे । खनालले भने, ‘पार्टीका नीति बिर्सनुभयो, एकलौटी ढंगले मन्त्रिपरिषद् बनाउनुभयो, नीति कार्यक्रम ल्याउनुभयो ।’

‘कहिले पानी जहाजको कुरा गर्नुभयो, कहिले घरघरमा पाइपबाट ग्यास ल्याउने कुरा गर्नुभयो । खोइ पानी जहाज ? खोइ घरघरमा ग्यास पाइप ?’ उनले भने ।

हामीले पटक पटक सोध्यौँ–उहाँ भन्नुहुन्छ , मैले काम गरेको देखेर विश्व चकित भएको छ । उहाँ भन्नुहुन्छ मैले सडक र पूल हालेको छु । केपी ओलीले रानीपोखरी बनाएँ भन्नुहुन्छ । उहाँले बनाएको हो ? कालिगढहरुले बनाएका हुन् उहाँहरुलाई धन्यवाद दिनुपर्छ ।

त्यस्तै अष्टलक्ष्मी शाक्य प्रधानमन्त्री केपी शर्मा ओली कमरेड बन्न नसकेको बताएकी छन् । शाक्यले ओलीलाई निरंकुश शासक बनेको आरोप लगाइन् ।

‘हामीले आदर गरेको ओली कमरेड बन्नु भएन, उहाँ निरंकुश शासक बन्नुभयो, स्वच्छाचारी शासक बन्नुभयो, सामन्ती शासक बन्नुभयो, सर्वोसत्तावादी शासक बन्नुभयो’, उनले भनिन्,‘ जनतामाथि धावा बोल्नुभयो।’

प्रधानमन्त्री ओलीले संविधानमाथि कू गरेकोसमेत शाक्यले आरोप लगाइन् । उनका अनुसार जनताले ओली सरकारमाथि जुन आशा गरेका थिए त्यो तोडिएको छ । ‘जबसम्म ओलीले खोस्न लागेको अधिकार प्राप्त गर्न सक्दैनौँ जबसम्म हामी रोकिँदैनौँ’, उनले भनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here