बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य, डोरमणीलाई हटाइयो

काठमाडौं, १५ पुस । प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले बागमती प्रदेशको संसदीय दलको नेताबाट डोरमणी पौडेललाई हटाइ अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ।

बुधबार बसेको प्रदेशसभा बैठकले शाक्यलाई संसदीय दलको नेतामा चयन गरेको हो।

यसअघि संसदीय दलको यही पुस ९ गते बसेको बैठकले दलको नेताबाट पौडेललाई हटाइ शाक्यलाई नयाँ नेता सिफारिस गरेको थियो। सोही निर्णय बमोजिम १० गते मुख्यमन्त्रीविरुद्ध नेकपाका ४५ सांसदले अविश्वासको प्रस्ताव ल्याउँदै नयाँ मुख्यमन्त्रीमा शाक्यको नाम सिफारिस गरेका थिए।

प्रचण्ड–नेपाल समूहले यसअघि नै शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध अविश्वासको प्रस्ताव गर्दा गराइसकेका छन्।

पौडेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भइसकेको छ। अब उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ ।

११० सदस्यीय प्रदेशसभामा नेकपाका ८१ सांसद छन्। तीमध्ये ४५ जना अष्टलक्ष्मी शाक्यको पक्षमा रहेको दावी छ। तर दुवै पक्षले सरकार बनाउन वा टिक्नका लागि कांग्रेसको साथ खोजेका छन्।

शाक्य तत्कालीन एमालेको संसदीय दलको निर्वाचनमा पौडेलसँग १० मतले पराजय भएकी थिइन् । तर माओवादी एकीकरणपछि दलमा प्रचण्ड–माधव पक्षको बहुमत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here