अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने

काठमाडौं, २३ पुस । कोरोना माहामारीको बेला ग्राहकलाई सहजै सेवा दिने उदेश्यले नि:शुल्क गरिएको इन्टर बैंक एटीएम सेवामा अब भने पैसा लाग्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले लकडाउनपछि नि:शुल्क गरेको अन्तरबैंक एटीएम कारोबारमा माघ १ गतेदेखि भने प्रति कारोबार २० रुपैयाँसम्म बैकहरूले शुल्क लिन पाउने व्यवस्था गरेको हो ।

केन्द्रिय बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकिकृत निर्देशन २०७७ मा संशोधन गरी यस्तो व्यवस्था गरेको हो। नयाँ व्यवस्था अनुसार महिनामा दुई वटा अन्तरबैंक एटीएम कारोबारको शुल्क नलाग्ने भए पनि सो भन्दा बढीको कारोबारमा भने शुल्क लिन पाउनेछन् ।

त्यस्तै एउटा बैंकले जारी गरेको एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा मासिक न्युनतम २ वटा कारोबारसम्म बैंकहरूले निशुल्क गर्न सकिने व्यवस्था मिलाउनुपर्ने छ ।

बैंक तथा वित्तीय संस्थाले सम्बन्धित ग्राहकको पूर्व अनुमति लिएर र सेवा शुल्क बापत पूर्व जानाकारी गराएर इन्टरनेट, मोबाइल र एसएमएस बैंकिङको सेवा बापतको शुल्क लिन सक्नेछन् ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले विद्युतीय कारोबारको पासवर्ड तथा यूजरनेम हराएमा वा विर्सिएमा ग्राहकले नै रिसेट गर्न सक्ने व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।

कोरोना माहामारीको कारण एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा पैसा नलाग्ने व्यवस्था भएपछि बैंक तथा वित्तीय संस्थाले एटीएम व्यवस्थापनमा लापरवाही हुँदै आएको थियो ।

कमाई नहुने भएपछि बैंक तथा वित्तीय संस्थाले एटीएमको व्यवस्थापन, मर्मतसंभार तथा सरक्षणमा वेवास्ता गरेको भन्दै आवाजहरु उठेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here