काठमाडौं, २४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई गाली गलौजमा उत्रिने फुर्सदै नभएको बताएका छन् ।
शुक्रबार धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री अोलीले प्रचण्ड–माधव नेपाल समूहका नेताले शीर्ष नेतृत्वलाई गाली गलौज गरेर हिँड्ने गरेको भन्दै आफूहरुलाई काम गर्नमा व्यस्त भएकाले गालीगलौजमा उत्रिने फुर्सदै नभएको बताएका हुन् ।
नेकपा दाहाल–नेपाल समूहलाई कटाक्ष गर्दै भने, ‘केही भगौडाहरु सडकमा गएर अश्लील गालीगलौज गरेर बसेका छन् ।
हामीलाई त देश विकास गर्नु छ, गालीगलौज गर्ने फुर्सद छैन ।’ उनले केही भगौडाहरु केन्द्रीय कमिटीको बैठकमा नआएर अन्त गएर गालीगलौजमा समय बिताएको भन्दै चर्को आलोचना गरे । उनले भने, ‘बाटामा बसेर भन्छन्, हामी यहाँ छौँ । मुख छाडेर हिँडेका छन् ।’
उनले भीम रावलले मन्त्री भएको बेला मात्र आफूलाई ठिक भन्ने तर, मन्त्री नबन्दा विरोधी बनेको बताए । ‘बाहिर–बाहिर राष्ट्रवादी देखिने, नक्सा छाप्दा सरकारको विरोध गर्ने । मैले मन्त्री बनाएका बेला मात्र केपी ओली ठिक थियो भन्ने । उहाँलाई पिर पर्यो’, उनले भने ।


























