माघ ३ गतेदेखि भारतले राष्ट्रव्यापी कोरानाको खोप लगाउने

काठमाडौं । भारत सरकारले आगामी शनिबार (माघ ३) देखि देशमा कोरोना भाइरसविरुद्ध खोप अभियान आरम्भ गर्ने घोषणा गरेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त अभियानलाई महत्त्वपूर्ण कदम भन्दै आगामी जुलाई महिनाभित्र ३० करोड मानिसलाई खोप दिइने बताएका छन्। भारतको कुल जनसङ्ख्या १.३ अर्ब छ।

अभियानको पहिलो चरणमा ३ करोडलाई खोप दिने जनाइएको छ । मोदीका अनुसार स्वास्थ्यसेवाका कर्मचारी तथा अग्रपङ्क्तिमा कार्यरत अन्य व्यक्तिले पहिला खोप पाउनेछन्। कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा भारत अमेरिकापछि शीर्ष स्थानमा छ।

कोरोनाभाइरस महामारी फैलिएपछि भारतमा १ करोड ३ लाखभन्दा बढी मानिस सङ्क्रमित भएको पुष्टि भएको छ भने झन्डै डेढ लाख जनाको मृत्यु भइसकेको छ।

भारतको औषधि नियामक निकायले दुईवटा खोपलाई प्रयोगको अनुमति दिएको छ। तीमध्ये कोभिशील्ड नाम दिइएको खोप एस्ट्राजेनेकाले अक्सफर्ड यूनिभर्सिटीसँग मिलेर बनाएको हो भने कोभ्याक्सीन भारतीय कम्पनी भारत बायोटेक आफैँले निर्माण गरेको हो।

‘त्यो दिन (जनवरी १६) देखि भारतको राष्ट्रव्यापी खोप अभियान शुरु हुन्छ,’ मोदीले ट्वीटरमा लेखेका छन् । ।उनका अनुसार चिकित्सक, स्वास्थ्यसेवाका कर्मचारी र सफाइ कर्मचारीसहित अग्रमोर्चाका कर्मचारीले खोपका लागि प्राथमिकता पाउनेछन्।

सरकारले एउटा विज्ञप्तिमा जनाएअनुसार त्यसपछि ५० वर्षमाथिका मानिस तथा स्वास्थ्यसम्बन्धी समस्या भएका ५० वर्षमुनिका जोसुकैले पनि खोप लगाउने पाउनेछन्।

भारतमा विभिन्न स्थानमा खोप अभियानका लागि अभ्यास भइसकेको छ। सरकारले ७०० जिल्लामा डेढ लाख कर्मचारीलाई तालिम दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here