भारतले दिएको १० लाख डोज कोरोना खोप नेपाल आइपुग्यो, वितरण कहिलेबाट ?

काठमाडौं, ८ माघ । नेपाललाई भारतले दिएको दश लाख डोज भ्याक्सिन बोकेको एयर इन्डियाको विमान काठमाडौं आइ पुगेको छ ।

भारतले अनुदान स्वरुप दिएको कोरोना भाइरसविरुद्धको खोप बोकेको विमान बिहिबार बिहान साढे ११ बजे त्रिभुवन विमानस्थलमा आइपुगेको हो। उक्त खोप केहीबेरमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्त्रण गर्ने छन्।

खोपलाई विमानस्थलस्थित कार्गो भवनको कोल्ड स्टोरमा राखिनेछ र त्यसपछि टेकुस्थित केन्द्रीय स्टोरमा लगिनेछ।

खोप बढीमा पाँच दिनभित्र देशका सात प्रदेशमा पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अक्सफोर्ड, एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिएको हो ।

विभागबाट प्रदेशको भण्डारण केन्द्रमा खोप पठाउने गरि तयारी छ । तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलगायतलाई खोप दिइने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here