बुधबार कोरोना खोप अभियानको शुभारम्भ, ४ लाख ३० हजार जनालाई लगाइँदै

काठमाडौं, ११ माघ । कोरोनाविरुद्धको खोप अभियान माघ १४ बाट शुरु हुने भएको छ ।

आइतबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले आगामी बुधबार देश व्यापी खोप अभियान शुरु हुने जानकारी दिएका छन्।

त्रिपाठीको अनुसार माघ १४ गते सातै प्रदेशभित्रका ६२ वटा अस्पतालहरुमा र १२० भन्दा बढी खोप केन्द्रहरुबाट कोरोना विरुद्धको खोप अभियान सुभारम्भ हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको भर्चुअल रुपमा उद्घाटन गर्ने भएका छन्।

त्यस्तै माघ १८ गतेसम्म देशका ७७ वटै जिल्लाका ३ सय खोप केन्द्रबाट खोप दिइने छ। खोप अभियानको पहिलो चरण १० दिनसम्म जारी रहने छ।

बेलायतको अक्स्फोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामको १० लाख खोप बिहीबार काठमाडौँ आइपुगेको थियो ।

यो खोप आइपुगेसँगै यसबारे सर्वसाधारणको मात्रै नभई स्वास्थ्यकर्मीहरूको पनि चासो बढेको छ ।

मन्त्री त्रिपाठीका अनुसार पहिलो चरणमा फोहर संकलक, चालक, एम्बुलेन्स चालक, शव वाहान चालक, प्रत्यक्ष खोप दिने स्वास्थ्य संस्थाका स्वाथ्यमर्की, स्वयमसेवक र सुरक्षाकर्मी, महिला स्वयम सेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा खटिने कर्मचारी, वृद्धाश्रममा खटिने कर्मचारी, र जेलमा रहेका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने छ। यसरी पहिलो चरणमा खोप लगाउनेको संख्या ४ लाख ३० रहेको छ।

भारतमा यो खोप लगाएपछि करिब ५ सय जनालाई साइड इफेक्ट देखिएको छ। केही मानिसहरुको मृत्युसमेत भएको छ। तर, भारतीय अधिकारीहरुले खोपका कारण मृत्यु नभएको बताइरहेका छन्।

स्वास्थ्य मन्त्री त्रिपाठीले खोपबारेको भ्रममा नपरी अभियानमा सहभागी हुन अपीलसमेत गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here