छ करोड लागतमा महानगरपालिका भर सिसी क्यामेरा जडान गरिँदै

काठमाडौँ, १४ जेठ । काठमाडौँ महानगरपालिकाले सुरक्षालाई मजबुत बजाउन सिसी क्यामेरा जडान गर्न थप दुई करोड ८१ लाख रूपैयाँ उपलब्ध गराउने भएको छ ।

कामपाको ३३औँ नगर कार्यपालिका बैठकले नेपाल महानगरीय प्रहरी परिसर काठमाडौँलाई उक्त रकम दिने निर्णय गरेको हो । सुरक्षालाई मध्यनजर गर्दै कामपाले गत फागुन १५ गते तीन करोड रूपैयाँ उपलब्ध गराइसकेको छ ।

महानगरपालिका र परिसर बीच महानगरपालिका क्षेत्रभित्र सुव्यवस्थापन, शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण फोहरमैला व्यवस्थापन, फुटपाथ नियन्त्रण, प्रदूषण न्यूनीकरणमा प्रभावकारी बनाउन आवश्यक पर्ने सिसी टिभी जडानका लागि सो रकम सहयोग गरेको हो ।

महानगरपालिका र परिसरबीच यही असोज ९ गते समुदाय–प्रहरी साझेदारी अवधारणा कार्यान्वयन गर्न भएको समझदारीअन्तर्गत उक्त रकम सहयोग गरिएको प्रवक्ता इश्वरमान डङ्गोलले जानकारी दिए ।

सिसी क्यामेरा जडानसँगै अपराध नियन्त्रण, वैज्ञानिक रुपमा प्रमाण सङ्कलन, फोहर व्यवस्थापन, अवैध कार्य नियन्त्रणमा ठूलो सहयोग पुग्ने विश्वास कामपाको रहेको छ ।

शहरी योजना आयोगमा बस्नेत

काठमाडौँ महानगरपालिकाको ३३औँ नगर कार्यपालिका बैठकले शहरी योजना आयोगमा सरोज बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको छ ।

गएको चैत २४ गते सम्पन्न महानगरको चौथो नगरसभाले स्वीकृत गरेको काठमाडौँ महानगरपालिका शहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ को व्यवस्थाबमोजिम उनलाई उपाध्यक्ष नियुक्त गरिएको प्रवक्ता डङ्गोलले जानकारी दिए । बस्नेत यसअघि आयोगको सदस्यसचिव थिए ।

ऐनअनुसार आयोगको अध्यक्षमा कामपाको प्रमुख रहने व्यवस्था रहेको छ । त्यसैगरी उक्त बैठकले पाकिस्तानको इस्लामावाद नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न प्रस्ताव अनुमोदन गरेको छ ।

बैठकमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले वडाका योजना कार्यान्वयन गर्दा महानगरसँग समन्वय गर्न वडाध्यक्ष र कार्यपालिका सदस्यहरुलाई आग्रह गरे ।

महानगरको सन्तुलित र योजनावद्ध बिकासका लागि आगामी नगरसभामा प्रस्तुत हुने प्रस्ताव वडा समितिबाट अनुमोदन गरेर समयमा नै पठाउन पनि शाक्यले आग्रह गरे । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here