केपी ओली बाहेक सबै पार्टी एकताको पक्षमा छन्, हुँदै भएन भने के गर्ने ? (पूर्णपाठसहित)

काठमाडौं, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले ओली समूहका अध्यक्ष केपी शर्मा ओली बाहेक सबै पार्टी एकताको पक्षमा रहेको बताएका छन्।

ललितपुरमा बुधबार पार्टी एकता राष्ट्रिय अभियान घोषणा कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले नेकपा व्यवहारिक र राजनीतिक रुपमा फुटिसकेपनि ओली बाहेकका सबै पार्टी एकताको पक्षमा रहेको बताएका हुन् ।

उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा रहेकाहरु पनि धेरै जसो पार्टी एताको पक्षमा रहेको बताए ।

गौतमले आफूलाई पछि एक समूहमा लाग्ने आंशका भइरहेको भन्दै आफू दुवै समूहमा नलाग्ने घोषणा गरे । उनले पार्टी एकतामा नै जुट्ने बताए ।

निर्वाचनबाट झण्डै दुईतिहाइ बहुमत ल्याएर सरकार बनाउने ठाउँमा पुगेको यो पार्टीको गौरव एकतामै बढ्ने थियो भन्दै उनले देशको नयाँ विशेषतामा आधारित समाजवाद हेर्न संसारका मान्छे आउने भनेर खुसी भइरहेको अवस्थामा पार्टी फुटेको बताए।

यद्यपि फुटेर निर्वाचनमा जाँदा नेकपा पराजित हुने निश्चित रहेको गौतमले दाबी गरे।

गौतमले अघिल्लो चुनावी नतिजाको आँकडा प्रस्तुत गर्दै विभाजित नेकपाको प्रधानमन्त्री ओली पक्ष र प्रचण्ड–माधव पक्षले अलग–अलग चुनावमा जाँदा चुनाव जित्न नसक्ने बताए।

फुटेर बहुमत ल्याउने कुरामा सपना मात्र भएको गौतमले बताए। ‘गत चुनावमा हामी पार्टी एकता गरेर गएका थियौं। त्यतिबेला नेकपाको पक्षमा लहर आएको थियो,’ गौतमले भने, ‘त्यस्तो अवस्थामा दुई पार्टी मिलेर ल्याएको मत जम्मा ४३ लाख हो।’

त्यतिबेला नेपाली कांग्रेसले ३० लाख मत ल्याएको बताउँदै गौतमले विभाजित अवस्थामा आफ्नो पक्षमा लहर नआउने तर्क गरे। उनले भने, ‘अहिलेसम्म ५-७ लाख मतदाता बढे होलान्। त्यसैले दुईतर्फ भोट बाँडिदा २१–२१ लाख हुन्छ। २२ लाख मात्रै अर्को पार्टीले मत प्राप्त गर्यो भने हामीलाई पछार्छ। कांग्रेसले पहिल्यै ३० लाख ल्याएकोमा अब झन् बढ्छ।’

त्यसैले अलग–अलग गरेर चुनाव लड्दा नेकपा पराजित हुने गौतमको बुझाई छ। ‘सर्वोच्च अदालतले के निर्णय गर्ला ? दुईमध्ये एक निर्णय गर्छ । वैशाख १७ र २७ गते चुनाव भए पनि एकता अभियान चलाइरहनुपर्छ’, उनले भने, ‘केपी ओली कहिल्यै पनि एकताको पक्षमा हुनुहुन्न । उहाँहरु एकता प्रक्रियामा आउनुभएन भने सेनापति त हुनुहुन्छ पछि सेना हुनुहुन्छ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएको भए इज्जत बढ्ने बताए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here