प्रशान्त तामाङको स्वरमा नयाँ गीत ‘आगो पिएर बाँच्ने…’

काठमाडौं । चर्चित गायक प्रशान्त तामाङको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।

रिमा इन्टरटेन्टमेन्ट नेपाल मार्फत ‘आगो पिएर बाँच्ने विवश मेरो कथा छ…’ बोलको आधुनिक गीत सार्वजनिक भएको हो ।

गीतमा चर्चित गायक/ संगीतकार तथा निर्देशक नारायण रायमाझीले संगीत भरेका छन् । शब्द जीवनाथ धमलको रहेको छ भने श्याम श्वेत रसाईलीको मिक्सिङ्ग गरेका छन् ।

छायांकन/सम्पादन/कलर मिराज अर्यालको रहेका छ । यस गीतको पहिलो गायन लक्ष्मी सिर्जन बजगाईको रहेको छ । गीतले नेपालीको पिर-व्यथालाई उतारेको छ ।

गाँस, बास र कपासको खोजीमा भौंतारिरहेका थुप्रै नेपालीको शैक्षिक, आर्थिक तथा सामाजिक अवस्था टिठलाग्दो अवस्थाबाटै गुज्रिएको बेला सत्ता प्राप्तिको भर्‍याङ मात्रै बनाउन पल्केका राजनीतिक दलका नेतालाई यस गीतले सन्देश दिन खोजेको छ ।


सन् २००७ का इण्डियन आइडल बिजेता प्रशान्त तामाङ चर्चित गायक मात्र नभई अभिनयमा दख्खल राख्ने अभिनेता पनि हुन् ।

उनले आधा दर्जनजति चलचित्रमा काम गरिसकेका छन् । २०७२ सालमा प्रदर्शन भएको चलचित्र ‘परदेशी’ अत्याधिक मन पराइएको चलचित्र हो ।

गोर्खा पल्टन, निशानी, धड्कनभित्र, किन मायामा, अँगालो यो मायाको लगायतका चलचित्रमा समेत काम गरेका अभिनेता तथा गायक तामाङ पुनः अभिनय कर्ममा फर्किएका छन् ।

२०७२ सालको लोकप्रिय चलचित्रको सिक्वेल ‘परदेशी २’ को उनलाई फेरि देख्न पाइनेछ । यो चलचित्रलाई नारायण रायमाझीले निर्देशन गरेका हुन् ।

नारायण इन्टरनेशनलको ब्यानरमा राजेश वंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको चलचित्रमा दीलिप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देबेन्द्र बब्लूलगायतको अभिनय रहेको छ ।

चलचित्रमा मानकृष्ण महर्जनको छायाँकन, अष्ट महर्जनको द्वन्द्व, बिबि अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी तथा दीर्घ खड्काको सम्पादन रहनेछ । चलचित्र दशैमा प्रर्दशनमा आउने तयारीमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here