काठमाडौं, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक सम्पन्न भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सर्वोच्चको संवैधानिक इजलासबाट गरिएको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
ज्ञवालीले आवश्यक परामर्शपछि मात्रै प्रधानमन्त्रीले राजीनामा दिने वा नदिनेबारे निर्णय लिने बताए । ‘मुलुकलाई कसरी राजनीतिक निकाश दिने भन्नेबारे हामी छलफलमै छौं, जे गर्दा देशका लागि सहज हुन्छ प्रधानमन्त्रीले त्यही गर्नुहुन्छ।’ नेता ज्ञवालीले भने
सर्वोच्चको आदेशबमोजिमनै संसद बैठक आह्ववान गर्ने निष्कर्ष आजको बैठकको रहेको समेत नेता ज्ञवालीले बताए।
संसदीय दलको बैठक र पार्टी केन्द्रीय समितिको बैठक पनि बोलााउने निर्णय गरेको छ। परराष्ट्र मन्त्री समेत रहेका ज्ञवालीले सर्वोच्चले तोकेकै अवधिभित्र संसद् अधिवेशन आह्वान हुने जानकारी पनि दिए ।
‘संसद्को चौथो अधिवेशन निर्धारित समयमै आह्वान हुन्छ । त्यस पछाडिको राजनीतिक परिदृष्य कस्तो हुन्छ भन्नेमा सम्बन्धित सबैसँग छलफलमा छौं,’ ज्ञवालीले भने ।
प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्दै सर्वोच्च अदालतले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन आदेश दिएको छ ।
























