काठमाडौं, १९ फागुन । सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ ।
दुवै वार्ता टोलीबीच बुधबार विहान पहिलो चरणको वार्ता भएको हो । वार्तामा दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सकिएको बताइएको छ । वार्ता भएको स्थान गोप्य राखिएको छ ।
वार्तामा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामवहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका थिए ।
विप्लव नेतृत्वको नेकपाका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा र दीपक चलाउने रहेका थिए । विप्लव समूहको वार्ता टोली मंगलबार (हिजो) नै काठमाडौं आइपुगेको थियो ।
वार्तामा के–के भयो खुलाइएको छैन । दुई समूहबीच निरन्तर छलफल जारी राख्ने सहमति भएको बताइएको छ । सरकारले ०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।