आठ महिनामा विदेशी लगानीका ५ सय ५४ उद्योग दर्ता, चीनबाट मात्रै ७८ प्रतिशत

संकेतिक तस्विर

जितेन्द्र खनाल

काठमाडौं, ४ चैत । चालू आर्थिक वर्षमा नेपालमा ५ सय ५४ वटा वैदेशिक लगानीका उद्योग दर्ता भएका छन् ।

उद्योग विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको आठ महिना(साउन-फागुन) को अवधिमा विभिन्न २१ देशका ५ सय ५४ वटा वैदेशिक लगानीका उद्योग दर्ता भएका हुन् ।

यस समयमा ७४ अर्ब ८३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी नेपाल भित्रिएको छ । जसमा चीनबाट मात्रै ४३ अर्ब ७७ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

धेरै लगानी प्रतिवद्धता गर्ने देशमा भारत दोस्रो नम्बरमा छ । यस समयमा भारतबाट १० अर्ब ७१ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

त्यस्तै धेरै लगानी प्रतिवद्धता गर्ने देशको तेस्रो स्थानमा बेलायत र चौथो स्थानमा अमेरिका छ । यी दुवै देशबाट क्रमश ६ अर्ब ७८ करोड र ६ अर्ब ३३ करोडको लगानी प्रतिबद्धता आएको छ ।

७८ प्रतिशत उद्योग चीनकै

विभागको तथ्यांक अनुसार आर्थिक वर्षमा दर्ता भएका उद्योगमध्ये ७८ प्रतिशत उद्योग चीनको मात्रै हरेको छ । आठ महिनामा चीनबाट मात्रै २ सय ७८ वटा उद्योग दर्ता भएका छन् ।

धेरै उद्योग दर्ता गर्ने देशको दोस्रो स्थानमा भारत रहेको छ । यस समयमा भारतबाट २० वटा उद्योग दर्ता भएका छन् । त्यस्तै, धेरै उद्योग दर्ता गर्ने देशमा अमेरिका तेस्रो नम्बरमा छ । यस समयमा अमेरिकाबाट विभिन्न शिर्षकमा ९ वटा उद्योग दर्ता भएका छन् ।

साढे १४ हजारलाई रोजगारी

विभागको तथ्यांक अनुसार ५ सय ५४ उद्योगमा १४ हजार ५ सय ५३ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

धेरै रोजगारी सिर्जना गर्ने देशमा चीन पहिलो नम्बरमा छ । यसबिचमा चीनको लगानी रहेको २ सय ७८ उद्योगमा मात्रै १२ हजार १ सय ७ जनाले रोजगारी पाउनेछन् ।

गएको आठ महिनामा भारतको लगानीमा दर्ता भएका उद्योगमा ७ सय ९१ जनाले रोजगारी पाउनेछन् । त्यस्तै, अमेरिकाको लगानी रहेको उद्योगमा २ सय ९८ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here