‘संसद भित्रैबाट राजनीतिक स्थायित्व खोज्न बाध्यात्मक अवस्था सिर्जना भयो’- प्रदीप ज्ञवाली

काठमाडौं, ६ चैत । परराष्ट्रमन्त्री तथा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले संसद भित्रैबाट राजनीतिक स्थायित्व खोज्न बाध्यात्मक अवस्था सिर्जना भएको बताएका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा नेकपा एमालेकातर्फबाट बोल्दै उनले उक्त कुरा बताएका हुन् । ‘प्रतिनिधि सभा पुनर्स्थापनापछि सुरुमा जसरी बैठक अघि बढे त्यसले राम्रो संकत गरेन।

सदनका बैठक नचलेका बेला सरकारले अध्यादेश ल्याउनुपर्छ,’ शुक्रबार संसदको बैठकमा आफ्ना धारणा राख्दै ज्ञवालीले भने, ‘संसदको पहिलो बैठकमा ती अध्यादेश प्रस्तुत गर्नुपर्ने संविधानको व्यवस्था छ, तर जनताको चासोसँग जोडिएका केही अध्यादेश रोकिए।’

उनले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने सरकारको निर्णय संविधान विपरित नभएको भन्दै सरकरको बचाउ समेत गरे।

सर्वोच्चका फैसला अनुसार अहिले संसद चलिरहेको छ। सरकारको दृष्टिकोण थियो ताजा जनादेशले सरकार र देश चलाउन सजिलो हुन्छ, उनले भने।

ज्ञवालीले यसअघिका बैठक संसद सुचारु हुन नपाउँदै माननीयहरुको विरोधका कारण बलात्कार सम्बन्धी अध्यादेश, खोप सम्बन्धी अध्यादेश र टिआरसी सम्बन्धी अध्यादेशमाथि छलफल गर्न नपाएको बताए ।

उनले प्रतिगमन शब्द सस्तो भएको भन्दै निश्चित व्यक्ति पदमा पुग्दा अग्रगमन हुने र पुग्न नपाउँदा प्रतिगमन हुने प्रवृत्ति छ त्यसको अन्त्य हुनुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here