विदेशी लगानी ३७ प्रतिशतले घट्यो, ७ महिनामा ९ अर्ब २ करोड एफडीआई

काठमाडौं, ६ चैत । चालु आर्थिक वर्षको सात महिनामा ९ अर्ब २ करोड रुपैयाँबराबर प्रत्यक्ष विदेशी लगानी (एफडीआई) नेपाल भित्रिएको छ ।

गत वर्षको साता महिनाको तुलनामा चालु आवको सोही अवधिमा यस्तो लगानी ३७ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको ७ महिनामा १४ अर्ब ३७ करोड रुपैयाँ विदेशी लगानी नेपाल भित्रिएको थियो ।

राजनीतिक स्थिरतासँगै नीतिगत सुधार भएकाले विदेशी लगानी बढ्ने सरकारको दाबी गर्दै आएको थियो । यद्यपि अहिले फेरी मुलुकमा राजनीतिक अस्थिरता बढ्दो छ ।

यसकारण पनि अपेक्षित रुपमा विदेशी लगानी बढ्ने सम्भावना नरहेको जानकारहरु बताउँछन् । तर, अझै लगानीकर्ता विश्वस्त हुने आधार विकास भइनसकेकाले विदेशी लगानी बढ्न नसकेको अर्थविद्हरू बताउँछन् ।

आर्थिक वर्ष ०७४/७५ मा यस्तो लगानी ३० प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । सो अवधिमा कुल १७ अर्ब ५५ करोड रुपैयाँ बराबर विदेशी लगानी नेपाल भित्रिएको थियो ।

विदेशी लगानीकर्ताले नेपालको लगानी वातावरणप्रति विश्वस्त हुन नसकेकाले अपेक्षित लगानी नआएको उनीहरुको भनाइ छ ।

गत वर्ष सुरुदेखि नै लगानी उच्च दरले घट्यो । जसमध्ये अघिल्लो वर्षको तुलनामा ०७५ असारमा कुल विदेशी लगानी साढे ९३ प्रतिशतले घट्यो । त्यसपछिका महिनामा यस्तो वृद्धिदर निरन्तर रूपमा घटिरह्यो ।

गत चैतसम्म आइपुग्दा विदेशी लगानीको वृद्धिदर करिब ५१ प्रतिशतले ऋणात्मक थियो । त्यसपछिका महिनामा विदेशी लगानीको वृद्धिदर घटे पनि सुधार भएन । यसकारण गत वर्षभरी नै विदेशी लगानी वृद्धिदर ऋणात्मक रह्यो ।

गत वर्ष सबैभन्दा बढी १७ अर्ब ५१ करोड रुपैयाँ विदेशी लगानी आयो । त्यसअघिका दुई वर्ष क्रमशः १३ अर्ब ५० करोड रुपैयाँ र ५ अर्ब ९२ करोड रुपैयाँ विदेशी लगानी आएको थियो ।

नेपालमा खासगरी जलविद्युत पर्यटन, प्राविधिक शिक्षा, स्वास्थ्यमा विदेशी लगानीको ठूलो सम्भावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here