‘उच्च शिक्षाका लागि विदेशिने परिपाटी रोकौं’

काठमाडौं, ६ चैत । उच्च शिक्षाका लागि विदेशिनु पर्ने बाध्यता र चलन दुवै रोक्न सरोकारवालाले जोड दिएका छन् । जनमैत्री बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभाका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा सरोकारवालाले यस्तो जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले सरकारी विद्यालय अब पछाडि नपर्ने भन्दै सरकारी लगानीका विद्यालयलाई निजीभन्दा राम्रो बनाउन सरकार लागि परेको बताए । विद्यालय र शिक्षाको गुणस्तर बढाउनमा सरकारको ध्यान केन्द्रित भएको छ, उनले भने ।

कार्यक्रममा जनमैत्री बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भोलानाथ ओझाले क्याम्पसको प्रगति विवरण प्रस्तुत गरेका थिए । गुणस्तरीय शिक्षाका लागि क्याम्पसले कुनै कसर नछोडेको भन्दै ओझाले विद्यार्थीमा व्यावहारिक ज्ञानको वृद्धिका लागि कम्प्युटर ल्याब, होटल म्यानेजमेण्ट ल्याब, रेडियो स्टुडियो र खेलकुद सुविधा राखिएको जानकारी दिए ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भिम प्रसाद सुवेदीले उच्च शिक्षाको लागि विदेशीने परम्पराको अन्त्य गर्न सरकारले मुख्य भुमिका खेल्नुपर्ने बताए । नेपाली युवाहरु शिक्षाकै लागि विदेशिनु पर्ने रहर र वाध्यता दुवै रहेको उनको भनाइ थियो । उनीहरुलाई यहाँ रोक्नका लागि गुणस्तरीय शिक्षा र नयाँनयाँ विषयहरुको अध्यापनको व्यवस्था हुनुपर्ने उनले बताए ।

गत वर्ष मात्रै नेपालबाट उच्च शिक्षाको लागि ६० हजारभन्दा धेरै बाहिरिएको उनले जानकारी दिए । यो वर्ष पनि झण्डै ४३ हजार गइसकेको भन्दै यो निकै डरलाग्दो अवस्था भएको उनले बताए ।

कार्यक्रममा क्याम्पसका संस्थापक अध्यक्ष ज्ञानबहादुर हमाल र कार्यालय सहयोगी मोहनबहादुर विष्टलाई विदाई समेत गरिएको थियो । विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणपत्र पाउने जनमैत्री काठमाडौं उपत्यकाको पहिलो क्याम्पस हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here