शेयर बजारमा लगानी गर्दा के-के कुरामा ध्यान दिने ?

काठमाडौं । पछिल्लो समय नेपाली शेयर बजारमा लागानी गर्नेको संख्या बढ्दै गएको छ । शेयर बजार बुझेर मात्रै नभई अरुको लहलहैमा लागेर शेयरमा लगानी गर्नेहरुको संख्या उल्लेख्य हुँदा सही समयमा सही निर्णय गर्न नसक्ने लगानीकर्ताको संख्या पनि उतिकै रहेको छ ।

बजार घट्नेवितिकै आत्तिहाल्ने र बजार बढ्नेवित्तीकै उत्साहित हुने प्रवृत्ति रहेको पाइन्छ ।

बजार बुलिस टेन्ड्रतर्फ उन्मुख हुदा प्रायः लगानीकर्ता अझै नाफा कमाइन्छ भनेर छिर्ने गर्छन् । जुन स्वाभाविक पनि हो । तर आफूले लगानी गरेको शेयरमा राम्रो प्रतिफल प्राप्त गरेको अवस्थामा बजारबाट नाफा बुक गर्दै निस्कनु नै बुद्धिमानी हुन्छ ।

थोरै बढी कमाउने लोभमा परेर नाफा भइसकेको कुनै सेयर च्यापेर राख्नु वा सो शेयरप्रतिको आशक्ति राख्नु गलत निर्णय हुन सक्छ ।

हरेक लगानीकर्ताहरूले आफ्नो लगानीबाट निश्चित प्रतिफलको अपेक्षा गरेको हुन्छन् । तर प्रतिफल र जोखिम एक अर्कासँग अन्तरसम्वन्धित हुने भएकोले लगानीकर्ताले विशेष सर्तकता अपनाउनु पर्दछ ।

जोखिमलाई न्यूनीकरण गर्दै प्रतिफललाई सुनिश्चितता प्रदान गर्नु एक चुनौतीपूर्ण कार्य हो । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरूको लागि सजग बनाउनको लागि समय समयमा विभिन्न प्रकारका मार्ग निर्देशनहरू जारी गरेको हुन्छ ।

निष्काशनकर्ता कम्पनीको विवरणपत्र अध्ययन गरी कम्पनीको कार्य सम्पादन स्थिति, वित्तीय स्थिति, (नेट वर्थ, नाफा नोक्सान स्थिति आदि), व्यवस्थापन पक्ष, जोखिम पक्ष जस्ता महत्वपूर्ण कुराहरूको विश्लेषण गरेर मात्र लगानी सम्वन्धी निर्णय गर्नुपर्दछ ।

प्राथमिक बजारमा लगानी गर्दा लगानीकर्ताले देहाय बमोजिमका विषयमा ध्यान दिन उचित हुन्छ ।

-संगठित संस्थाले धितोपत्रको सार्वजनिक निष्काशन गर्ने क्रममा सर्वसाधारण लगानीकर्तालाई विवरणपत्रको संक्षिप्त विवरण सहित, व्यवस्थापकीय, प्राविधिक र आर्थिक बिषयका साथै वास्तविक तथा यथार्थतामा आधारित सूचना तथा विवरण समावेश गरी राष्ट्रिय स्तरको दैनिक पत्रिकामा आह्वानपत्र प्रकाशन गर्दछन् ।

-धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताले सम्बन्धित संगठित संस्थाको विवरणपत्र, सम्बन्धित कम्पनीको व्यवसायको प्रकृति, आर्थिक विवरण, संस्थागत सुशासनको अवस्था, जोखिम पक्ष, क्रेडिट रेटिङ्गको स्तर, संस्थापक, सञ्चालक सम्बन्धी विवरण जस्ता कुराहरुको अध्ययन तथा विश्लेषण गरी लगानी सम्बन्धी निर्णय गर्नु उपयुक्त हुन्छ ।

-आस्बा प्रणालीमा धितोपत्र आवेदनकर्ताले आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा तोकिएको ढाँचामा धितोपत्र खरिद तथा रकम रोक्काको लागि निवेदन दिनुपर्छ ।

तत्पश्चात बैंक तथा वित्तीय संस्थाले आवेदन बमोजिमको रकम रोक्का राखी सोको जानकारीसहितको पूर्जी लगानीकर्तालाई उपलब्ध गराउँछ ।

धितोपत्र बाँडफाँट भएपछि धितोपत्र पाउने लगानीकर्ताको खाताबाट निष्काशनकर्ता कम्पनीको खातामा खरिद रकम हस्तान्तरण हुने र शेयर नपाएको अवस्थामा लगानीकर्ताको रोक्का भएको रकम फुकुवा हुने व्यवस्था मिलाईएको हुन्छ ।

-धितोपत्र खरिदका लागि दरखास्त दिएपछि धितोपत्रको बाडँफाँट, फिर्ता भुक्तानी, प्रमाण–पत्र प्राप्ति तथा सूचीकरण सम्वन्धमा सजग रहनुपर्दछ ।

-धितोपत्रको दोस्रो बजार मार्फत धितोपत्रको खरिद, बिक्री वा विनिमय गर्ने प्रयोजनको लागि सार्वजनिक निष्काशन गरिएको धितोपत्र नेपाल स्टक एक्सचेन्ज लि. मा धितोपत्र सूचीकरण गरिन्छ ।

-धितोपत्रको निष्काशन मुल्यले सूचीकरण पश्चात् धितोपत्र विनिमय बजारमा कायम हुन जाने मूल्यलाई नजनाउने हुँदा धितोपत्रको बजार मूल्य परिवर्तनको जोखिम प्रति सजग रहनुपर्दछ ।

-धितोपत्रको सार्वजनिक निष्काशन हुँदा लगानीकर्तामा धितोपत्र खरिद सम्बन्धी गुनासा सम्बन्धित निष्काशन तथा बिक्री प्रबन्ध गर्ने संस्था, निष्काशनकर्ता कम्पनी तथा नेपाल धितोपत्र बोर्ड समक्ष राख्न सकिने व्यवस्था रहेको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here