‘हिमालयन ट्राभल मार्ट’ तेस्रो चरणको तयारी सम्पन्न, ६ करोड खर्च हुने अनुमान

काठमाडौं, २० जेठ । हिमालयन ट्राभल मार्ट तेस्रो चरणको सम्र्पूण तयारी पूरा भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा प्यासिफिक एशिया ट्रभल एशोसिएशन (पाटा) र अन्य संथहरुको सहकार्यका हुन लागेको कार्यक्रम यही जेठ २३ देखि २६ गते (जुन ६ देखि ९) सम्म काठमाडौंको सोल्टी होटलमा हुने छ ।

नेपाललाई हिमालयको प्रवेशद्धार तथा साहसिक पर्यटकीय गन्तव्यको रुपमा विश्व सामु स्थापित गर्ने उद्देश्यले स्थापना भएको यस कार्यक्रमको पहिलो संस्करण सन् २०१७ मा आयोजना गरिएको थियो ।

तेस्रो ट्राभल मार्टमा आयोजित कार्यक्रमहरुलाई नेपाल भ्रमण वर्ष २०२० लक्षित बनाईएको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनील शाक्यले बताए ।
उनले भने ‘तेस्रो हिमालयन ट्राभल मार्टमा आयोजना गरिने कार्यक्रमहरु नेपाल भ्रमण वर्ष २०२० को पूर्वतयारी एवम् लक्ष्य प्राप्तिमा केन्द्रित हुने छ ।’

मार्टबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेपाल पर्यटन बोर्डका अध्यक्ष दीपकराज जोशीले यस्ता कार्यक्रमले नेपाली पर्यटन क्षेत्रलाई एउटा ब्राण्डको रुपमा विकास गर्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ‘यस्ता कार्यक्रमहरुले नेपाली पर्यटन क्षेत्रलाई एउटा ब्राण्डको रुपमा विकास गर्नको लागि सहयोग गरिरहेका हुन्छन् ।’ उनले भने ‘विश्वका धेरै देशका मानिसहरु कार्यक्रममा सहभागी हुन्छन् । त्यसैले यस्ता कार्यक्रमले अनुभव आदानप्रदान गर्नको लागि पनि राम्रो अवसर प्रदान गर्छन् ।’

मार्टमा ४१ देशका ७ सय जनाको सहभागिता हुने पाटा नेपालका अध्यक्ष शाक्यले बताए । नेपाल, चीन, पाकिस्तान, भुटान, थाइल्याण्ड र भारतबाट मात्रै ५४ विक्रेता कम्पनी तथा संस्थाहरुको सहभागिता हुने छ । मार्टमा ३८ जना अन्तरराष्ट्रिय ट्राभल ब्लर्गस तथा मिडिया प्रतिनिधिहरुको सहभागिता हुनेछ ।

करिब ६ करोड रुपैयाँ बराबरको खर्च हुने अनुमान गरिएको मार्टको लागि नेपाल पर्यटन बोर्डले २ करोड रुपैयाँ रकम विनियोजन गरेको पर्यटन बोर्डका अध्यक्ष जोशीले बताए ।
यसका साथै धेरै सरकारी तथा गैरसरकारी संस्थाहरुबाट पनि सहयोग प्राप्त भईरहेको पाटा नेपाल च्याप्टरले बताएको छ । यस पटकको मार्टमा बजेटको करीब ७५ प्रतिशत खर्च निजी क्षेत्रको सहकार्य र प्रयोजनबाट भएको पनि शाक्यले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here