ज्योति लाइफको आइपीओ बाँडफाँड शुक्रबार, साढे १२ लाख आवेदकको हात खाली हुने

काठमाडौं, ११ चैत । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण शेयर (आइपीओ) शुक्रबार बाँडफाँड हुने भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटलले शुक्रबार आइपीओ बाँडफाँड गर्ने तयारी गरेको हो । रुरु जलविद्युत परियोजनाले आयोजना प्रभावित स्थानीय वासिन्दाको लागि निष्काशन गरेको आइपीओ भने बाँडफाँड गरि सकेको छ ।

ज्योतिको आइपीओमा कम्पनीको आईपीओमा १८ लाख ४२ हजार ४९६ आवेदकबाट तीन करोड ८४ लाख ८६ हजार २२० कित्ता शेयर माग गर्दै आवेदन परेको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

ज्योतिको आइपीओमा परेको आवेदन हालसम्मका कुनै पनि आइपीओमा परेको सबैभन्दा धेरै आवेदन हो ।

यसअघि महिला लघुवित्तको आइपीओमा सबैभन्दा धेरै १५ लाख ४९ हजारले आवेदन दिएका थिए । कुल आवेदकको संख्या १८ लाख ४२ हजार भए पनि योग्य आवेदकको संख्यामा केही घट्न सक्नेछ ।

धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार १० कित्ताको दरले बाँडफाँड गर्नपर्ने हुन्छ । सर्वसाधारणको लागि निष्कासन गरेको ५९ लाख ४० हजार कित्ता सेयर १० कित्ताको दरले बाँडफाँड गर्दा ५ लाख ९४ हजार आवेदकले पाउनेछन् । बाँकी रहेका करिब साढे १२ लाख आवेदकको भने हात खाली हुनेछ ।

कम्पनीले फागुन २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

कुल निष्काशित आइपीओमध्ये ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) कम्पनीका कर्मचारी र अर्को ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) नै सामूहिक लागनी कोषहरु र ५९ लाख ४० हजार कित्ता सर्वसाधरणका लागि छुट्याइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here