नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने प्रक्षेपण

काठमाडौं, १८ चैत । विश्व बैंकले चालू आर्थिक वर्षको नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

विश्व बैंकले ‘साउथ एसिया इकोनोमिक फोकसः साउथ एसिया भ्याक्सिनेट्स’ रिपोर्ट सार्वजनिक गर्दै उक्त प्रक्षेपण गरेको हो। विप्रेषण आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा बैंकले जिडिपी बढ्ने प्रक्षेपण गरेको जनाएको छ ।

कोभिड–१९ विरुद्धको खोपको वितरण र यसले सिर्जना गरेको सहज गतिविधिका कारण अर्थतन्त्रमा तीव्र सुधारको संकेत देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै प्रतिवेदनले आगामी आवमा भने मुलुकमा ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने उल्लेख गरेको छ । यसअघि विश्व बैंकले गत जनवरीमा २.१ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको थियो ।

उक्त अनुमानलाई संशोधन गरी विश्व बैंकले नयाँ प्रक्षेपण गरेको हो । नेपालसँगै बंगलादेश, पाकिस्तानको समेत आर्थिक वृद्धिदर बैंकले यसअघि गरेको प्रक्षेपणभन्दा बढी हुने संशोधित अनुमान रहेको छ ।

यसअघि सन् २०२० को अक्टोबरमा पनि बैंकले १.४ प्रतिशत नै आर्थिक वृद्धिदर हासिल हुने जनाएको थियो । यसबाहेक दक्षिण एसियामा सन् २०२१ मा आर्थिक वृद्धिदर ७.२ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ । त्यस्तै सन् २०२२ मा ४.४ प्रतिशत वृद्धि हासिल हुने समेत उसले उल्लेख गरेको छ ।

बंगलादेश, नेपाल र पाकिस्तान सबैको आर्थिक वृद्धिदर बैंकले यसअघि गरेको प्रक्षेपणभन्दा बढी हुने संशोधित अनुमान गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here