सरकार र विश्व बैंकबीच ८ अर्ब ७० करोड रुपैयाँ बराबरको अतिरिक्त वित्तिय सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं, २० चैत । कोभिड–१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको पहुँच विस्तार गर्न विश्व बैंक र नेपाल सरकारबीच शुक्रबार ७ करोड ५० लाख अमेरिकी डलर (करिब ८.७ अर्ब नेपाली रूपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशीर कुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक श्री फारिस हदाद-जर्भोसले हस्ताक्षर गरेका छन् ।

‘कम्तिमा पनि ७२% नेपाली जनसंख्यालाई खोप दिने सरकारको बृहत योजनाका लागि यस अतिरिक्त वित्तिय सहयोगले महत्वपूर्ण र समय-सान्दर्भिक सहयोग पुर्‍याउनेछ,’ अर्थ सचिव ​ ढुंगानाले भने,’कोभिड-१९ महामारीको स्वास्थ्य सम्बन्धी प्रतिकार्यका लागि कोभिड-१९ विरूद्धको खोपहरूको खरिदका साथै नेपालको राष्ट्रिय खोप वितरण योजना अनुरुपको प्रभावकारी खोप सेवा विस्तार र नेपालको स्वास्थ्य प्रणालीको सुदृढिकरण गर्न यो अतिरिक्त वित्तिय सहयोग उपयोगी हुनेछ ।’

गत वर्ष चैतमा विश्व बैंकद्वारा स्विकृत गरिएको २.९ करोड अमेरिकी डलर ( ३.३ अर्ब नेपाली रूपैँया) बराबरको कोभिड-१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी आयोजना मै यस अतिरिक्त वित्त सहयोग प्राप्त भएको हो । स्वास्थ्य र जनसंख्या मन्त्रालयको नेतृत्वमा यस आयोजनाको कार्यान्वयन स्वास्थ्य सेवा विभाग र अन्य सम्बद्ध संस्थागत निकायले गर्नेछन् ।

यस अतिरिक्त वित्त सहयोगको ९० प्रतिशत हिस्साले कोभिड-१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको खरिद, आपुर्ति र वितरणलाई सघाउने छ ।

बाँकी रकमले कोभिड-१९ संक्रमणको परिक्षण, पहिचान र उपचारका लागि विद्यमान जनस्वास्थ्यका उपायहरूलाई टेवा दिनेछ; कोभिड-१९ विरूद्धका खोपहरूको माग र स्विकार्यताको सुधार गर्न सामुदायिक संलग्नता र जोखिम संचारलाई प्रवर्द्धन गर्नेछ ; र आयोजनाको कार्यान्वयन, अनुगमन र मूल्यांकन, र सिकाईलाई पनि बढावा दिने बताइएको छ ।

‘कोभिड-१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको समतामुलक र द्रुत पहुँच विस्तार गर्नु नेपालमा महामारीबाट जिवन रक्षा गर्न र उत्थानशील पुनर्लाभ प्राप्त गर्न निकै महत्वपूर्ण छ,’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले भने,’विश्व बैंक नेपालमा जीवन रक्षा, सार्वजनिक स्वास्थ्य तयारी प्रणालीको सुदृढिकरण, र नेपालको आर्थिक पुनर्लाभलाई उत्प्रेरित गर्न सरकारको महामारी प्रतिकार्यलाई सहयोग गर्न प्रतिबद्ध छ ।’

विकासशिल देशहरूका लागि आर्थिक कोष र ज्ञानको ठूलो स्रोतका रूपमा रहेको विश्व बैंकले विकासशिल देशहरूलाई यस महामारीका स्वास्थ्य सम्बन्धी, सामाजिक र आर्थिक असरहरू विरुद्धको प्रतिकार्यमा सघाउन विस्तृत तथा द्रुत कार्यक्रम अगाडि बढाएको छ।

यस अन्तर्गत कम तथा मध्यम आय भएका देशहरूमा कोभिड-१९का खोपहरूको खरिद, वितरण, परिक्षण र उपचारमा सहयोग गर्नका साथै खोप प्रणालीको सुदृढीकरणका लागि बैंकले स्थापना गरेको १२ अर्व डलरको प्याकेज अन्तरगत यो सहायता प्राप्त भएको हो ।

यस वित्तिय सहयोग विश्व बैंक समुह स्तरिय बृहत कोभिड-१९ प्रतिकार्य अन्तर्गत पर्दछ जसले संसारभरका १०० भन्दा बढी देशहरूमा स्वास्थ्य प्रणाली सुदृढीकरण गर्न, अति विपन्न घरधुरीलाई सहयोग गर्न र सबैभन्दा मारमा परेका मानिसहरूका लागि जिविकोपार्जन तथा रोजगारीका अवसरहरू कायम राख्नका लागि सहयोगी वातावरणको सिर्जना गर्न सहयोग गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here