रोजगारी सिर्जनाको लागि तीन प्रतिशत ब्याजदरमा १० लाखसम्म ऋण

काठमाडौं, २२ चैत । उत्पादन तथा रोजगारी सिर्जनाका लागि बागमती प्रदेश सरकारले सहुलियतपूर्ण ब्याजदरमा ऋण लगानी गर्ने भएको छ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै सहुलियतपूर्ण ब्याजदरमा अधिकतम १० लाख रुपैयाँसम्म ऋण लगानी गर्ने लागेको जनाएको हो ।

यस्तो ऋण बढीमा ५ वर्षका लागि हुने जनाइएको छ। यो ऋण लगानी कार्यक्रमका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को बजेटबाट ३ अर्ब रकम छुट्याएको छ।

यस्तो ऋणको वार्षिक ब्याजदर ३ प्रतिशतभन्दा बढी नहुने प्रदेश सरकारले जनाएको छ। कृषि व्यवसाय, उद्योगव्यवसाय, पर्यटन प्रवद्र्धन, व्यापारव्यवसाय, वन तथा वातावरण, महिला तथा दलित समुदायको र फोहरमैला व्यवस्थापनजस्ता क्षेत्रमा प्रदेश सरकारले ऋण लगानी गर्नेछ ।

इच्छुकले बागमती प्रदेशभित्रका कृषि विकास बैंक र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा कार्यालयहरु आवेदन दिनुपर्नेछ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले बागमती प्रदेश भित्रका सम्पूर्ण नागरिक, कृषक तथा नव प्रवर्तक एव लघु यद्योगी व्यवसायीहरुलाई सहुलियतपूर्ण ऋण लगानी कार्यक्रममा सहभागि हुन समेत अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here