उपत्यका प्रवेश गर्न एन्टीजेन परीक्षण अनिर्वाय, मापदण्ड पालना नगरे दण्ड जरिवाना

काठमाडौं, २३ चैत । नेपालमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले उपत्यका प्रवेशमा कडाइ गरेको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा कडाइ गरेको हो । थप कडाइगरेसँगै उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ ।

अब काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्‍यवस्थापन मिलाउने र सम्पर्क व्‍यक्ति तोक्नु पर्नेछ।

नाकामा जोडिएका नगरपालिका र गाउँपालिकामा हेल्थ हेस्क राखिनेछ । त्यसको सबै व्यवस्थापन सरकारले गर्ने निर्णयमा भनिएको छ, एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर परीक्षणको लागि स्वाब संकलन गरी पठाउने छ ।

साथै स्वास्थ्य मापदण्ड पालना नगरे दण्ड जरिवाना समेत गर्ने निर्णयका उल्लेख गरिएको छ ।

के हो एन्टीजेन परीक्षण ?

पीसीआर परीक्षणले शरीरमा भाइरसको संक्रमण रहे-नरहेको पहिचान गर्छ भने एन्टीजेन परीक्षणले पनि कोरोनाभाइरस छ कि छैन भनेर नै पहिचान गर्ने हो ।

पीसीआर परीक्षण गर्नको लागि हामीलाई प्रयोगशाला, विशिष्टीकृत उपकरण, विभिन्न किट, धेरै थरीका जनशक्ति चहिन्छ भने एन्टीजेनमा आधारित परीक्षणमा त्यस्तो विशेष जरुरत पर्दैन । धेरै झमेला नगरीकन नै सामान्य परीक्षणको आधारमा रिपोर्ट थाहा पाइने परीक्षण हो ।

पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको दिनदेखि ४८–७२ घण्टामा मात्रै नतिजा थाहा पाउन सकिन्छ । पीसीआर परीक्षणको नतिजा ६–८ घण्टामा नै आउने भए पनि विविध कारणले रिपोर्ट ढिला आउने हुन्छ । तर निजी प्रयोगशालाहरूले विगतको तुलनामा छिटो रिपोर्ट दिँदै आएको पाइन्छ ।

पीसीआर परीक्षणको तुलनामा एन्टीजेनमा आधारित परीक्षण गर्दा धेरै चाँडो रिपोर्ट आउँछ ।यस परीक्षणबाट चाँडै नतिजा थाहा पाइने भएकाले अस्पतालमा आकस्मिक शल्यक्रिया वा अन्य रोगका बिरामीलाई पनि तत्काल उपचार गर्ने अवस्थामा रहेकाहरूलाई संक्रमण रहे-नरहेको पहिचान गर्न सकिने हुन्छ ।

यसले गर्दा बिरामीले सहजरुपमा उपचार गराउन पाउने भए । यस्तै अस्पतालका स्वास्थ्यकर्मी, अग्रपंक्तिमा काम गर्ने सुरक्षाकर्मी सम्पूर्णले सहजरुपमा परीक्षण गरी रोगीको ढुक्क भएर उपचार गर्न पाउँछन् । यो विधिबाट एकै पटकमा ३–४ सयजनाको पनि स्वाब परीक्षण गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here