काठमाडौं, २३ चैत । रुरु जलविद्युत परियोजनाले निष्काशन गरेको आइपीओमा चौंथो दिनसम्ममा आवेदनको आइरो लागेको छ ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार सोमबार ५ बजेसम्ममा कम्पनीको आइपीओमा १ करोड ८६ लाख ५९ हजार ९६० कित्ताका लागि आवेदन परेको छ ।
५ बजेसम्म १३ लाख १ हजार ३८४ जनाले कुल १ अर्ब ८६ करोड ५९ लाख ९६ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । यो सर्वसाधारका लागि बिक्री खुला गरिएको ३ लाख ७९ हजार १६७ कित्तालाई आधार मान्दा ४९.२१ गुणा बढी आवेदन हो ।
कम्पनीले गत शुक्रबारदेखि अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँ दरमा ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।
यसमध्ये ८ हजार १५४ कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा आइपीओ बिक्री नभएमा वैशाख ३ गतेसम्म बिक्री खुला राख्नेछ । रु रु जलुविद्युतको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर भर्न सक्नेछन् ।
कम्पनीले गुल्मीको माथिल्लो हुग्दी खोलामा ५ मेगावाट क्षमताको विद्युत उत्पादन गरिरहेको छ । माथिल्लो हुग्दीले २०७१ चैतदेखि विद्युत उत्पादन गर्दै आएको छ । यसमा पनि माग भन्दा धेरै आवेदन पर्ने हुनाले १० कित्ता पर्नपनि भाग्यकै भरमा पर्नु पर्नेछ ।