सेकेन्ड ह्यान्ड बाइक किन्नु अघि जान्नै पर्ने ९ कुरा

काठमाडौं । मुलुकको राजधानीदेखि दूरदराजका गाउँहरुसम्म फेशन, सवारी र सामान ढुवानीको भरपर्दो साधन हो मोटरबाइक । शहरी क्षेत्रमा भने यात्रालाई सरल, सहज र छिटो बनाउनका लागि बाइक सबैभन्दा उपयुक्त सवारी साधन हो ।

नेपालको सडकको अवस्था, दैनिक आवत–जावत र सहजताका लागि मोटरसाइकल निकै उपयोगी र अत्यावश्यक साधन बन्न पुगेको छ । नयाँ बाइक किन्न बढी खर्च हुने भएकाले प्रायः मानिसले आफ्नो आवश्यकता परिपूर्तिका लागि सेकेन्ड ह्यान्ड मोटरसाइकल खरिद गर्ने गर्छन् ।

तर, केही कुरामा विचार नगरी सेकेन्ड–ह्यान्ड मोटरसाइकल किन्दा ठगिने सम्भावना धेरै हुन्छ । त्यसैले सेकेन्ड–ह्यान्ड बाइक किन्नुअघि यी कुरा थाहा पाउनुभयो भने ठगिने सम्भावना कम हुन्छ ।

मूल्य

सेकेन्ड–ह्यान्ड मोटरसाइकल खरिद गर्दा सुरुवातमा यसको मूल्य कति छ, ध्यान दिनुपर्छ । निजी बिक्रेताले डिलरसिपको तुलनामा कम मूल्य निर्धारण गरेका हुन्छन् ।

बिक्रेताले निर्धारण गरेको मूल्यअनुसार मोटरसाइकलको अवस्था ठिक छ वा छैन चेक–जाँच गर्नुपर्छ । आफ्नो आवश्यकताअनुसार कति मूल्यसम्मको मोटरसाइकल खरिद गर्ने हो, त्यसको योजना पहिल्यै बनाउनु पर्छ ।

तपाईंले सेकेन्ड–ह्यान्डमा किन्ने तयारी गरिरहनुभएको बाइकको नयाँ शोरुम मूल्य कति छ, त्यो पनि पहिल्यै थाहा पाउनु आवश्यक हुन्छ ।

मर्मत–सम्भार

बिक्रेता कम्पनीले मोटरसाइकल सर्भिसिङ्ग गरेको छ वा छैन भन्ने हेर्नुपर्छ । अन्यथा तपाईंले किनेपछि धेरै रकम खर्च गरेर मर्मत–सम्भार गर्नुपर्ने हुनसक्छ ।

ब्रान्ड र सटिफाइड स्थान

तपाईंले खरिद गर्न लागेको ब्रान्डको उपस्थिति कस्तो छ, त्यसले दिने सर्भिस कस्तो छ, त्यो पहिल्यै जानकारी राख्नुपर्छ । भोलि तपाईंले किन्ने निर्णय गरेको कम्पनीको ब्रान्ड भ्यालूसँग तपाईं जोडिने हुँदा कुन ब्रान्डको बाइक किन्दा उचित हुन्छ, त्यो छनोट गर्नुपर्छ ।

सम्बन्धित मोटरसाइकल कम्पनीको डिलर वा फे्रन्चाइज्ड डिलरले रिलाएवल मोटरसाइकल बेच्ने हुँदा सेकेन्ड–ह्यान्ड मोटरसाइकल ती स्थानबाट किन्दा ठगिने सम्भावना कम हुन्छ ।

बिक्रेतासँगको सम्बन्ध

सकेसम्म चिनजान भएको डिलर वा वर्कशपबाट सेकेन्ड–ह्यान्ड मोटरसाइकल लिनुपर्छ । सँगै, मोटरसाइकलको इन्स्योरेन्स तिरे–नतिरेको, कति अवधिसम्मको कर तिरेकोजस्ता विषयमा जानकारी लिनुपर्छ ।

फाइनान्सिङ्ग

प्रायः अर्को व्यक्तिसँग बाइक किन्दै हुनुहुन्छ भने फाइनान्सको सुविधा पाउन सकिँदैन । त्यस्तोमा सेकेन्ड–ह्यान्ड मोटरसाइकल खरिदकर्ता प्रायले, चेक वा क्यासमा मोटरसाइकल खरिद गर्ने गर्छन् । यसको अलवा, ऋणमा मोटरसाइकल खरिद गर्न चाहनेले भने आफ्नो ऋणको ग्यारेन्टि लिने व्यक्तिको सहयोग लिनुपर्छ ।

वारेन्टी

सुरुवाती मोटरसाइकल बिक्रेता कम्पनीले मोटरसाइकल बिक्री गर्ने समयमा निश्चित अवधिका लागि वारेन्टी प्रदान गरेको हुन्छ । त्यो सकिएको छ वा छैन मोटरसाइकल खरिद गर्नुपूर्व त्यसकाबारेमा बुझ्नुपर्छ ।

कन्डिसन हेर्नुस्

मोटरसाइकल खरिद गर्नुपूर्व खरिदकर्ताले मोटरसाइकलको फ्यूल क्षमता, इन्जिन, फे्रम, सन्सपेन्सन ब्रेक, बियरिङ्ग, फ्लूडलिक, ब्याट्रीलगायत मोटरसाइकलको अन्य सम्पूर्ण पार्टपूर्जाको अवस्था के छ भन्ने अध्ययन गर्नुपर्छ ।

ब्लू–बूक

ग्राहकले सेकेन्ड–ह्यान्ड मोटरसाइकल खरिद गर्दा सबैभन्दा ध्यान दिनुपर्ने कुरा हो, मोटरसाइकलको कागजात । मोटरसाइकलको ब्लू–बूकमा उल्लेख भएको चेसिस नम्बर र मोटरसाइकलको चेसिस नम्बर ठिक छ–छैन, चेक–जाँच गर्नुपर्छ ।

टेष्ट–ड्राइभ

मोटरसाइकल किन्नुपूर्व एकपटक टेस्ट–ड्राइभ गर्नु निकै आवश्यक हुन्छ । जसले मोटरसाइकलको माइलेज, अवस्था तथा कन्डिसनबारे बुझ्न सजिलो बनाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here