काठमाडौं २९ चैत । आइतबार उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा मनाउने गरिन्छ ।
नेपाली सेनाले आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गर्छन् ।
टुँडिखेलको पूर्व–दक्षिण दिशामा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेपछि घोडाको टापले कुल्चिने परम्पराका रुपमा घोडेजात्रा मनाउने गरिएको विश्वास छ ।
गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो ।
यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।
कोरोना संक्रमणको त्रास बढेकाले यस वर्ष थोरै पाहुनालाई बोलाएर घोडेजात्रा आयोजना गर्न लागिएको नेपाली सेनाले जानकारी दिएको छ । कोरोना संक्रमणको त्रासका कारण लकडाउन गरिएपछि गतवर्ष यो पर्व रोकिएको थियो ।
आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।