फेरि बढ्यो काठमाडौंको प्रदूषण, विश्वकै प्रदूषित शहरको दोस्रो स्थानमा

काठमाडौं, ३१ चैत । केहीदिन अघिदेखि विश्वकै पहिलो प्रदूषित शहर बनेको काठमाडौंको प्रदूषण कायमै रहेको छ ।

वायु प्रदूषणसम्बन्धी ताजा विवरण राख्ने आइक्युएयर वेबसाइटले काठमाडौंलाई मंगलबार पनि प्रदूषित शहरको दोस्रो स्थानमा देखाएको हो ।

आज बिहान ९ बजेसम्मको वायु प्रदूषणको मात्रा २०९ एक्युआई रहेको छ। रिपार्ट अनुसार काठमाडौंमा वायु प्रदूषणका साथै फोहोर र त्यसको उचित व्यवस्थापन नहुनाले हुने प्रदूषण उच्च विन्दुमा रहेको देखाएको छ ।

वायु प्रदूषणको अति हानिकारक अवस्थाबाट केही सुधार भएको छ । पहिलो स्थानमा नयाँदिल्ली रहेको छ । नयाँदिल्लीको वायु प्रदूषण (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) रेटिङ ३०१ पुगेको छ ।

काठमाडौंपछि तेस्रो नम्बरमा पकिस्तानको लाहौंर रहेको छ । पकिस्तानन प्रदूषण (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) को रेटिङ १७८ पुगेको छ।
सामान्यत एक्यूआई ५० भन्दा कम हुनुलाई राम्रो वायु मानिन्छ । २ सयभन्दा धेरै एक्यूआइ भएमा हानिकारक र ३ सयभन्दा बढी भएमा अति हानिकारक मानिन्छ ।

तथ्याक अनुसार ८० प्रतिशतभन्दा पनि बढी नागरिक प्रदूषित हावामा सास फेर्न बाध्य छन् । यसका कारणले जनस्वास्थ्यमा जटिलताहरू थपिँदै गएको पाइएको छ ।

वायु प्रदूषणका कारण आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन् । नेपालमा बर्सेनि वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको ज्यान जाने गरेको छ । विश्वमा ७० लाख मानिसको ज्यान जाने गरेको छ ।

यस्तो समयमा बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्दछ ।

वायु प्रदूषणका कारणले घरबाहिरको खुला ठाउँमा नबस्न, नखेल्न र मर्निङ वाकमा घरबाहिर जाने गरेको भए पनि नजानसमेत विज्ञहरुले अग्रह गरेका छन् ।

सो प्रतिवेदनअनुसार विश्वका धनी देशहरूको क्षेत्र जस्तो कि युरोप र उत्तर अमेरिकामा हावामा पाइने गुणस्तरको मात्रा केही सुधारोन्मुख छ ।

तर पनि गरिब देशमा भने स्थिति झन्भन्दा झन् ह्रासोन्मुख हुँदै गएको छ । यस्तो क्षेत्रमा विकासशील देशहरू मध्यपूर्वी क्षेत्र र दक्षिणपूर्वी एसियाली देशहरू पर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here