काठमाडौं, २ बैशाख । अबदेखि घरमै बसेर अनलाइनबाटै आफ्नो घरजग्गाको नक्सा हेर्न, आफैं प्रिन्ट गर्न मिल्ने भएको छ । सरकारले आजदेखि ‘मेरो कित्ता’ प्रणाली शुभारम्भ गर्दै यस्तो सुविधा ल्याएको हो ।
नापी विभागमा बिहीबार आयोजित औपचारिक समारोहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर यो व्यवस्थाको शुभारम्भ गरेका हुन् ।
यो प्रणाली मार्फत आफ्नो जग्गाको नक्सा हेर्न, प्रिन्ट गर्न तथा प्लट रजिस्ट्रर, फिल्डबुक प्रिन्ट, फिल्ड रेखांकन लगायत सेवाको अनलाइनबाटै बुझाउन सकिने सकिने नापी विभागले जनाएको छ ।
‘मेरो कित्ता डट जिओभी डट एनपी’ लगइन गरेर यो सेवा लिन सकिने विभागले जनाएको छ । सेवाग्राहीलाई सहजरुपमा छिटोछरितो सेवा दिन तथा प्रविधिमैत्री बनाउन यो सेवा शुरु गरिएको विभागको भनाइ छ ।
विभागका अनुसार यो सेवा पहिलो चरणमा काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुर मालपोत कार्यालयमा लागू हुने छ भने क्रमशः देशभर कार्यान्वयनमा ल्याइने विभागले जनाएको छ ।