जसपा सरकार गठनमा सहभागी नहुने, कांग्रेस र माओवादीलाई बहुमत जुटाउन सकस

काठमाडौं, २८ बैशाख । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले जसपा वैकल्पिक सरकार गठनमा सहभागी नहुने बताएका छन् ।

विश्वासको मत विभाजनमा तटस्थ बसेका ठाकुरले वर्तमान सरकारसँगको वार्ता र तदअनुसारका कामको प्रगति भइरहेको सरकार गठनमा सहभागी नहुने भन्दै विज्ञप्ति सार्वजनिक गरेका हुन् ।

सोमबार संसदमा विश्वासको मत नपाएपछि प्रधानमन्त्री केपी ओली पदमुक्त भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरिसकेकी छन्।

भण्डारीले नयाँ सरकार गठनको लागि राति नै तीन दिनको समय दिएकी छिन् । सरकार बनाउन तम्सिएका कांग्रेस र माओवादीले पर्सि राति नौ बजेसम्म बहुमत जुटाउनुपर्नेछ ।

जनता समाजवादी पार्टीले साथ दिएमा नयाँ सरकार बनाउन सजिलो हुन्छ तर जसपाभित्र २ समूहको विवाद बढ्दै गएको छ ।

अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराई पक्षले नयाँ सरकार गठनमा साथ दिनुपर्ने बताउँदै आएको छ । तर अध्यक्ष महन्थ ठाकुर पक्षले भने सरकार गठनमा सहभागी नहुने अडान दोहोर्‍याएको छ ।

अहिले संसदमा दुई सय ७१ सांसद संख्या कायम रहेकोमा बहुमतको लागि एक सय ३६ मत आवश्यक पर्छ ।

कांग्रेसका ६१, माओवादीका ४८ र जसपाका ३२ सांसद मिलेर १ सय ४१ सांसदसहित सरकार बन्न सक्छ तर जसपाको ठाकुर पक्षले साथ नदिने भएपछि बहुमत नपुग्ने देखिन्छ ।

‘जसपा नेपाल सत्ताको प्राप्तिभन्दा एजेन्डा सम्बोधनको विषयमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपाको मुल धेय रहेको अवस्थामा मुद्दाबाट बिचलित भइ सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरीत हो, मधेश आन्दोलनको मर्म र भावना विपरीत हो भन्ने हाम्रो ठहर छ,’ उनले भनेका छन्।

वैकल्पिक सरकार निर्माणले अस्थिरता हुने र मधेशका मुद्दा सम्बोधनको कार्य अनिश्चित हुनेको उनले उल्लेख गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here