गण्डकीको मुख्यमन्त्रीमा गुरुङले लिए शपथ

काठमाडौं, २९ बैशाख । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनःनियुक्ति पाएका पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नयाँ सरकार गठनका लागि विपक्षी दलले समय सीमाभित्र बहुमत जुटाउन नसकेपछि मुख्यमन्त्रीमा पुनःनियुक्ति भएका गुरुङलाई बुधबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले शपथ खुवाएकी हुन् ।

बुधबार नै प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

गुरुङ मुख्यमन्त्री पदमा आज नियुक्त भए पनि उनले प्रदेशसभामा एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ।

प्रदेशसभामा कुनै दलको एकल बहुमत नभएमा र दुई वा दुई भन्दा बढी दल मिलेर पनि बहुमत जुटाउन नसकेमा संविधानको धारा १६८(३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

आइतबार मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी थिइन्।

प्रमुखले दिएको समयवधिभर बहुमतको सरकार बनाउन विपक्षी दलले कसरत गरेका थिए। तर जनमोर्चाका दुई सांसदले साथ नदिएपछि विपक्षीलाई धक्का पुगेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here