काठमाडौं, १ जेठ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले १३ मुलुकमा रहेका नेपाली दूताबासहरुलाई कोरोनाभाइरस महामारीमा नेपालका लागि आवश्यक सहयोग जुटाउने कार्यमा अझ जोडतोडले लाग्न निर्देशन दिएका छन् ।
सनिबार साँझ नेपाली मिसन र राजदूतहरुसँग एक भर्चुअल मिटिङमा कुरा गर्दै उनले यस्तो निर्देशन दिएको मन्त्रालयले बताएको छ ।
मन्त्री ज्ञवालीले मानवीय सहायताको क्षेत्रका काम गरिरहेका संस्था, निजी क्षेत्र तथा नेपाली डायस्पोरासँग पनि सहकार्य गर्न सकिने क्षेत्रहरु खोज्न पनि निर्देशन दिएका छन् ।
यसका साथै विदेशमा रहेका नेपाली नागरिकहरुको सुरक्षा र स्वास्थ्य रक्षालाई उच्च प्राथमिकता दिन उनले सुझाव दिएका छन् ।
मन्त्रालयले यसअघि नै विदेशस्थित नेपाली नियोगहरुलाई कोरोनाभाइरसविरुद्धको लडाईंमा आवश्यक उपकरण तथा सामग्रीलगायत सहयोग जुटाउन निर्देशन दिएको थियो ।
यसैवीच युरोपेली संघका लागि नेपाली राजदूत गहेन्द्र राजभण्डारीको प्रयासमा संघले नेपाललाई २० लाख युरो बराबरको सहयोग गर्ने भएको छ भने अमेरिकाबाट पनि चाँडै सहयोग आउने मन्त्रालयले बताएको छ ।