भारतमा कोरोनाबाट एकैदिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च

काठमाडौं, ५ जेठ । भारतमा कोरोनाबाट एकै दिन ४ हजार ५२५ जनाको मृत्यु भएको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमण हुनेको संख्या घटे पनि मृत्यु हुनेको संख्या बढ्दै गएको हो ।

यो एकै दिन मृत्यु भएका संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो।

सोमबार ४ हजार ३४० जनाको मृत्यु भएको थियो। त्यस्तै, आइतबार ४ हजार ९२ जनाले ज्यान गुमाएका थिए। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ८३ हजार २७६ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार १७४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। यो सोमबारको भन्दा ४ हजारले कम हो।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या २ करोड ५४ लाख ९५ हजार १४४ पुगेको छ। सक्रिय संक्रमित पनि ३२ लाख ३२ हजार १६५ पुगेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here