युरो कप फुटबल आजदेखि, उद्घाटन खेलमा इटाली र टर्की भिड्दै

काठमाडौं, २८ जेठ । यस वर्षको युरोकप फुटबल प्रतियोगिता आजदेखि शुरु हुंदैछ। १६ औँ संस्करणको युरो कप फुटबल प्रतियोगिताको उद्घाटन नेपाली समयअनुसार आज राति पौने १ बजे इटालीको रोममा हुनेछ ।

जहाँ प्रतियोगिताको पहिलो खेलमा इटाली र टर्की भिड्दैछन् ।

युरोकपको १६ औं संस्करण युरोपका विभिन्न देशका ११ शहरमा आयोजना हुँदैछ। प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा आयोजना गर्न लागिएको हो।

युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले युरो कप लण्डन, आम्स्टरडम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सबर्गमा आयोजना हुने जनाएको छ ।

एक महिना चल्ने खेलमा २४ राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ। एउटा समूहमा चार टोली रहनेछन्। कोरानाका कारण यसपटक प्रत्येक टोलीमा तीन जना थपेर २६ खेलाडी राख्न पाउने नियम बनाइएको छ।

त्यस्तै, एक खेलमा ५ खेलाडी सब्सिच्यूट गर्न पाइनेछ। प्रतियोगिताको फाइनल खेल लण्डनको वेम्बली रंगशालामा हुनेछ । युरो कपमा जर्मनी र स्पेनले सर्वाधिक ३–३ पटक उपाधि जितेका छन्, फ्रान्सले दुई तत्कालीन सोभियत संघ, इटली, चेकरिपब्लिक, नेदरल्याण्ड्स, डेनमार्क, ग्रिस र पोर्चुगलले एक एक पटक उपाधि उचालिसकेका छन्।

पोर्चुगल साविक विजेता हो। २०१६ मा घरेलु टोली फ्रान्सलाई फाईनलमा हराउँदै उसले पहिलो उपाधि जितेको थियो। यूरो कपमा अहिलेसम्म सबैभन्दा बढी गोल फ्रान्सका माइकल प्लाटिनी र पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले गरेका छन्।

उनीहरुको नाममा समान नौ गोल छ। १५ वटा संस्करण सकिँदासम्म १० टोलीले उपाधि जित्दा यस पटक ग्रिस बाहेक सबैले प्रतियोगितामा स्थान बनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here