काठमाडौं, २९ जेठ । नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले आज चीनको कुनमिङमा आयोजित १४ औं चीन–दक्षिण एशिया व्यवसाय फोरमको बैठकमा भाग लियो ।
ढकाल सार्क उवासंघको उपाध्यक्ष समेत हुन् । अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनिया परिषद र सार्क उद्योग वाणिज्य संघद्वारा संयुक्त रूपमा चीनको युनान प्रान्तको कुनमिङ शहरमा फोरमको बैठक आयोजना भएको हो ।
फोरम बैठकमा नेपाल लगायत चीन, भारत, अफगानिस्तान, भुटान, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेशका व्यवसायिक नेताहरू, सार्क उद्योग वाणिज्य संघका अध्यक्ष सहित पदाधिकारीहरू, बाह्य देशका प्रतिनिधिहरू लगायतको सहभागीता रहेको छ ।
बैठकमा महासंघको व्यापार मेला समितिका सभापति दीलसुन्दर श्रेष्ठ, नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष धर्मराज शाक्य,महासंघका सहायक निर्देशक अरुण श्रेष्ठ, अधिकृत कृति खतिवडा सहितको महासंघको प्रतिनिधिमण्डलको सहभागिता रहेको छ ।
बैठककै क्रममा सीसीपीआईटी र सार्क राष्ट्रका उद्योग वाणिज्य महासंघहरूका तर्फबाट एक समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ ।
समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघ÷नेपालको तर्फबाट महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालले हस्ताक्षर गरे ।
समझदारीपत्रमा चीन र दक्षिण एशियाली राष्ट्रहरू बीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षण, व्यापार सहजीकरण, आपसी सहकार्य लगायतका विषयमा जोड दिइएको छ ।
सोही अवसरमा कुनमिङमा आयोजना भएको चाइना आयात निर्यात व्यापार तथा दक्षिण एशियाली व्यापार मेला समेत आयोजना भएको छ । उक्त मेलामा नेपालबाट १०० वटा स्टलहरू मार्फत नेपाली वस्तुहरूको प्रदर्शनी भैरहेको छ ।
ढकाल सहित महासंघको प्रतिनिधिमण्डलले उक्त मेलाको अवलोकन ग¥यो । मेलामा विशेष गरी नेपाली हस्तकलाका सामाग्रीहरूको प्रदर्शनी गरिएको छ ।
त्यसअघि हिजो चीनको कुनमिङमा योग्सी शहरमा आयोजना भएको चाइना साउथ एशिया सहयोग मंचको दोस्रो बैठकलाई ढकालले संवोधन गरे ।
सो कार्यक्रमलाई संबोधन गर्दै उनले सार्क राष्ट्रहरूको अर्थतन्त्र विविधात्मक भएकाले यस क्षेत्रको आर्थिक विकासमा सदस्य राष्ट्रहरू बीचको बलियो सहकार्यमा जोड दिए ।
सार्क राष्ट्रहरूमा भौगोलिक, सास्कृतिक विविधता, सहज यातायात लगायत पर्यटनकोे लागि सार्क क्षेत्र विशेष भएको महासंघका पूर्व अध्यक्ष ढकालले बताए ।
उनले भने ‘नेपालले बीआरआइलाई एउटा महत्वपूर्ण कनेक्टीभिटीको रूपमा मानेको छ । नेपालमा भएका युवाहरूलाई परिचालन गर्न र नेपालको उत्पादकत्व बढाउन यसले मद्दत गर्छ ।’
चीनले विश्वमा आफुलाई उत्पादन विविधिकरण र निरन्तर आर्थिक विकास गरीरहेको मुलुकको रूपमा चिनाईरहेको बेला नेपालले पनि त्यसबाट सिक्न आवश्यक रहेको उनले बताए ।