क्यानडाको तापक्रममा ‘रेकर्ड ब्रेक’, ६९ जनाको मृत्यु

canada heat wave

काठमाडौं । अत्याधिक गर्मीका कारण क्यानडामा कम्तीमा ६९ जनाको मृत्यु भएको छ ।

दक्षिणी प्यासिफिक उत्तरपश्चिममा तापक्रम निरन्तर बढेर तातो हावा चल्न थालेपछि गर्मी अत्याधिक भइरहेको छ । गर्मीले त्यहाँको जनजीवन नराम्ररी प्रभावित बनेको छ । गर्मी सहन नसकेकै कारण ६९ जनाको मृत्यु भएको र अधिकांश वृद्ध उमेरका रहेको ब्रिटिस कोलम्बियाको प्रहरीले जनाएको छ ।

मङ्गलबार क्यानडाको तापक्रममा ‘रेकर्ड ब्रेक’ भएको छ । ब्रिटिस कोलम्बियाको लिटनको तापक्रम साताकै सबैभन्दा उच्च ४९.५ डिग्री सेल्सियस पुगेको हो ।

जोखिमयुक्त उमेर समूह वा स्वास्थ्य अवस्थाका व्यक्तिहरुका लागि हालको गर्मी घातक बन्ने देखिएको सरकारी अधिकारीले जनाएका छन् । स्थानीय प्रशासनले स्थानीय बासिन्दासँग आफूसँगै छिमेकीका बारेमा पनि ख्याल गर्न आग्रह गरेको छ । अझै केही दिन तापक्रम उच्च रहने र तातो हावा चल्ने चेतावनी इन्भाइरोमेन्ट क्यानडाले दिएको छ।

अमेरिकामा पनि केही दिनदेखि अत्याधिक गर्मी भइरहेको छ । तापक्रम निरन्तर उकालो लागिरहेको छ । अमेरिकी शहर पोर्टल्याण्ड र सियाटलको तापक्रम सन् १९४० पछिकै सबैभन्दा धेरै मापन गरिएको छ ।

ओरिगनको पोर्टल्याण्डको तापक्रम ४६.१ र सियाटलको ४२.२ डिग्री सेल्सियस पुगेको छ । स्थानीय बासिन्दाले गर्मीले गर्दा आफूहरु मरुभूमिमा रहेजस्तै लागेको प्रतिक्रिया समाचार संस्था एएफपीलाई बताएका छन् । अझै केही दिन तापक्रम उच्च रहने भन्दै सरकारी अधिकारीले सचेत रहन सबैमा आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here