काठमाडौं, १९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको खोप अब सबैले लगाउन पाउने दाबी गरेका छन्।
नेपाल विद्युत प्राधिकरणको काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोप लगातार आउने क्रम सुरु भएकाले निरन्तर खोप अभियान चल्ने दाबी गरे ।
‘हामीलाई बीचमा भ्याक्सिन पाउन कठिन भएको थियो, विभिन्न मित्रराष्ट्रसँग संवाद गरेर त्यसलाई समाधान गरेका छौं। अब सबैलाई क्रमैसँग खोप लगाउँछौँ उनले भने ।’
उनले भने, ‘भ्याक्सिन पाइएन भन्ने कुरा नै अब हुँदैन। भ्याक्सिन लगाउन पनि हामीसँग क्षमता कम छ। आवश्यकता अनुसार सकेसम्म छोटो अवधिमा उपलब्ध गराउँछौँ।’
कोभिडबाट जोगिन विगतमा मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र हात धुने जस्ता उपाय रहेकामा अब खोपमार्फत कोरोना सर्न नपाउने स्थितिमा पुर्याउने जिकीर गरे ।
प्रधानमन्त्री ओलीले पहिले जोखिमयुक्त समूहलाई खोप दिने र त्यसपछि क्रमश सबै नागरिकलाई खोप दिने बताए ।
सरकारको प्रयासका कारण नेपालमा कोरोना महामारीको क्षति कम भएको दाबी गर्दै खोप आउन थालेपछि थप सुरक्षित हुने दाबी गरे ।
























