युनियन लाइफको आइपीओ खुल्यो, कति कित्ता भर्ने ?

काठमाडौं, २४ असार । युनियन लाइफ इन्सुरेन्सले असार २४ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको हो ।

निष्काशन हुने कुल आइपीओमध्ये ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३ लाख २२ हजार ५०० कित्ता नै कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ५८ लाख ५ हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ताको लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको आइपीओमा असार २८ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलामा साउन ७ गतेसम्म आवेदन दिन पाइने छ ।

आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी (आइआर ट्रिपल बी (बीबीबी’ रेटिङ) दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था र वित्तीय दायित्व बहन गर्ने क्षमता औसतमा मध्यम जोखिम रहेको भन्ने जनाउँछ ।

हाल १ अर्ब ५० करोड ५० लाख चुक्ता पूँजी रहेको कम्पनीको आइपीओपछि चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।

कति आवेदन दिने ?

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ।

कम्पनीले सर्वसाधरणलाई ५८ लाख ५ हजार कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा ५ लाख ८० हजार ५०० जनालाई मात्र सेयर दिन पुग्छ ।

यसअघि खुलेका आइपीओमा करिब २१ लाखले आवेदन दिँदै आएका छन् । सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here