मुलुकभरको बाढी पहिरोमा अर्बौको क्षति, हालसम्म २ अर्बको बीमा दाबी

फाइलफोटो

काठमाडौं, २५ असार । कोरोनाको कहरसँगै मुलुक बाढी र पहिरोको चपेटामा परेको छ। वर्षामा पहाड र हिमाली क्षेत्रमा पहिरो जाने र तराईमा बाढी र डुबानका कारण बर्षेनी अर्बौको धनजनको क्षति भइरहेको छ।

यसवर्षको मनसुन सुरु भएयता बाढीपहिरो र डुबानमा परी ५१ जनाको मृत्यु भएको छ भने २९ जना बेपत्ता भएका छन् । मृत्यु हुनेहरूमा २६ जना पुरुष, १५ जना महिला, पाँचजना बालक र पाँचजना बालिका रहेका छन्।

पछिल्लो २४ घण्टामा बाढी, पहिरो र डुबानमा परी दार्चुलामा तीनजना, पाल्पामा दुईजना तथा तनहुँ र दाङमा १/१जना गरी जम्मा सातजना मृत्यु भएको छ।

अर्बौको धनजनको क्षति भएको छ । तर, ती सबै सम्पत्तिको बीमा गरिएको हुँदैन् । मनसुन सुरु भएयता पहिरोले पुर्याएको क्षतिबापत करिब २ अर्ब रुपैयाँ बराबरको बीमा दाबी परेको छ । यो अवधिमा २० वटै निर्जीवन बीमा कम्पनीमा परेको दाबी हो ।

बीमा समितिका अनुसार सो अवधिमा कुल १ अर्ब ९२ करोड ३ लाख ४८ हजार रुपैयाँ बराबरको बीमा दाबी परेको छ । सो अवधिमा सम्पत्ति बमिा, मोटर बीमा, कृषि तथा पशुपंक्षी बिमा, इञ्जीनियरिङ बीमा र विविध बिमा अन्तरगत बिमितबाट ३ सय ३१ वटा बीमा दाबी परेका छन् ।

जसमध्ये निर्माणाधीन आयोजना बीमाको मागदाबी ९० करोड ७ लाख ३४ हजार, निर्माण सम्पन्न आयोजनाको ११ करोड ७० लाख, हेभी इक्वीपमेन्ट बीमा को ८ करोड ८४ लाख ३६ हजार र अन्य शिर्षकमा १ करोड ५३ लाख ३ हजार रुपैयाँ बराबरको बीमा दाबी परेको समितिको तथ्यांक छ । अवधिमा इञ्जीनियरिङ बिमा अन्तरगत १ सय ७ वटा दाबी परेका छन् ।

सबै निर्जीबन बिमा कम्पनीमा परेका कुल बिमा दाबीमध्ये १ सय ४१ वटा सम्पत्ति बीमाका छन् । ती दाबी उपर ६९ करोड ३६ लाख ४६ हजार रुपैयाँ बिमा दाबी भएको छ ।

यस्तै, मोटर बीमाका ३३ वटा दाबीमा ४ करोड ७५ लाख ८९ हजार, सामुद्रिक बीमाका ५ वटा दाबीमा १९ लाख ८१ हजार, कृषि बीमाका ६ वटा दाबीमा १ करोड ६२ लाख ५१ हजार, पशुपंक्षी बिमाका ५ वटा दाबीमा २ करोड ३८ लाख ५९ हजार रुपैयाँ र विविधतर्फका २ वटा दाबीमा १ करोड ५५ लाख ५१ हजार रुपैयाँ माग भएको समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here