युनियन लाइफको आइपीओमा आवेदनको ओइरो, कतिले भरे ?

काठमाडौं, २५ असार । युनियन लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदनको ओइरो लागेको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार दोस्रोदिन शुक्रबार साँझ ५ बजेसम्ममा ११ लाख ७० हजार ९१२ जना आवेदकबाट १ करोड ९६ लाख १ हजार ९३० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्।

कम्पनीले बिहीबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ विक्रीमा ल्याएको छ ।

निष्काशित कुल आइपीओमध्ये ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३ लाख २२ हजार ५०० कित्ता नै कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ५८ लाख ५ हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको आइपीओमा असार २८ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलामा साउन ७ गतेसम्म आवेदन दिन पाइने छ । कम्पनीको आइपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर ट्रिपल बी (बीबीबी’ रेटिङ) दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था र वित्तीय दायित्व बहन गर्ने क्षमता औसतमा मध्यम जोखिम रहेको भन्ने जनाउँछ ।

हाल १ अर्ब ५० करोड ५० लाख चुक्ता पूँजी रहेको कम्पनीको आइपीओपछि चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा ८ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको जगेडा कोषमा ७३ करोड ७ लाख रुपैयाँ संचित रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here