बजेट अभावले वीरञ्जको सडक विस्तार योजना प्रभावित

काठमाडौं, ७ असार । बजेटको अभाव तथा ठेक्का लाग्न नसकेपछि वीरगञ्ज महानगरपालिकाको मुख्य सडक विस्तार गर्ने योजना अहिलेलाई नरहेको डिभिजन सडक कार्यालय हेटौँडाले जनाएको छ ।

लामो समयदेखि वीरगञ्ज बजारलाई फराकिलो पार्न सडकको मध्य भागबाट २५—२५ मिटर दायाँबायाँ सडक विस्तार गर्ने योजना लामो समयदेखि अन्योलमा रहेको थियो । तर, केही दिनयता अन्योलले निकास पाएपनि बजेटको अभाव तथा ठेक्का प्रक्रियाको कारण सो काम हाललाई अघि बढन नसकेको हो ।

गण्डक क्षेत्रमा सडक विस्तार गर्ने क्रममा सो क्षेत्रको घरहरु भत्काइएको छ । बजार क्षेत्रको घर भत्काएर सडक विस्तार गर्ने पहल शुरु भएकोले यसले चाँडैनै निकास पाउने सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख सुमन योगेशले बताए ।

गण्डकदेखि वीरगञ्ज भन्सारसम्म करीब तीन किलोमिटर सो सडक घण्टाघरदेखि वीरगञ्जको मुख्य बजार हुँदै आदर्शनगर, छपकैया, विर्ता हुँदै भन्सार कार्यालय पुग्छ । साँघुुरो रहेको सो सडकमा जाम हुने, सवारी साधनको आवागमनमा समेत समस्या रहेकोले संघीय सरकारले सो क्षेत्रको सडक २५—२५ मिटर विस्तार गर्ने निर्णय गरेको छ ।

विगत ५ वर्षअघि पनि सडक विस्तारको चर्चा चलेसँगै घरधनीले विभिन्न किसिमका विरोधका कार्यक्रम गरेको तथा मुद्दा दायर गर्ने जस्ता काम गरेकाले सो सडक विस्तारको काम अगाडि बढ्न सकेको थिएन ।

भारतीय पर्यटक प्रवेश गर्ने मुख्य नाकाको रुपमा रहेको वीरगञ्जको सडक विस्तार हुनु अतिआवश्यक रहेको भन्दै होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तको भनाइ छ । उनका अनुसार सडक विस्तारले जाम हुने समस्या समाधान हुन्छ, सरकारले यसतर्फ अविलम्ब काम गर्नुपछ ।

मुख्य बजारभित्र औद्योगिक तथा व्यापारीक घरानाका घर रहेकाले २५—२५ मिटर सडक विस्तार गर्दा ती घर भत्काउँदा निकै क्षति हुने भएकोले सरकारले क्षतिपूर्तिको व्यवस्था गरेर भत्काउनुपर्ने उद्योग वाणिज्य संघ वीरगञ्जका पूर्वअध्यक्ष तथा प्रदेश सभासदस्य ओमप्रकाश शर्माले बताए ।

अघिल्लो वर्ष वीरगञ्ज महानगरपालिकाको नगरसभाले नगरभित्रको मुख्य सडक १५—१५ मिटर विस्तार गर्न संघीय सरकारलाई अनुरोध गरेको थियो । तर, संघीय सरकारले सडक विस्तार २५—२५ मिटर नै हुने अडान राखेको थियो । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here