रोनाल्डोले युनाइटेडमा खेल्ने पहिलो खेलको टिकट मुल्य २५ सय पाउण्ड !

काठमाडौं । इटालियन क्लब युभेन्टसबाट इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड पुगेका क्रिस्टियानो रोनाल्डोले खेल्ने न्युक्यासलविरुद्धको पहिलो खेलको टिकट मूल्यमा कालोबजारी भएको बेलायती मिडियाहरुले उल्लेख गरेका छन् ।

बेलायतको ‘द टाइम्स’ले रोनाल्डोले डेभ्यु गर्ने खेलको टिकट रि-सेल गर्ने वेभसाइटहरुले २५ सय पाउण्ड सम्म बेचेको उल्लेख गरेको छ ।

मिडियामा रिपोर्ट सार्बजनिक भएपछि अहिले भने ३०० देखि ७०० पाउण्ड सम्मका करिब २०० टिकट उपलब्ध रहेको रि-सेल गर्ने साइटमा देखिएको उल्लेख छ ।

अहिले फ्यानहरुले अगाडीको टिकट किन्न हानथाप गरेको बेलायती मिडियाहरुले उल्लेख गरेका छन् ।

ओल्ड टाफोर्डमा हुने यस खेलका लागि युनाइटेड र खासगरी रोनाल्डोका फ्यानहरुले जति पनि रकम तिर्न तयार भएको उल्लेख गरिएको छ ।

म्यानचेस्टर युनाइटेडले भने फ्यानहरुलाई अपिल गर्दै यस्ता साइटबाट टिकट नकिन्न आग्रह गरको छ । आधिकारिक स्रोतबाट टिकट किन्न आग्रह गर्दै यस्ता टिकटहरु नक्कली पनि हुनसक्ने चेतावनी युनाइटेडले फ्यानहरुलाई दिएको छ ।

हाल पोर्चुगलको राष्ट्रिय टिमसँग रहेका रोनाल्डोले आयरल्याण्डविरुद्धको विश्वकप छनौटको खेलमा अन्तिम समयमा दुइ गोल गर्दै पोर्चुगललाई जिताएपछि म्यानचेस्टर युनाइटेडका फ्यानहरु झन् उत्साहित बनेका छन् ।

रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी गोल गर्ने रेकर्ड बनाएका छन् । रोनाल्डो सम्भवत सेप्टेम्बर ७ मा हुने पोर्चुगलको अजरबैजानविरुद्धको खेल गुमाएकाले उनी सेप्टेम्बर ४ मा हुने कतारविरुद्धको मैत्रीपूर्ण खेलपछि म्यानचेस्टर आउने सम्भावना रहेको छ ।

म्यानचेस्टर युनाइटेडले अन्तर्राष्ट्रिय ब्रेकपछि सेप्टेम्बर ११ शनिबार नेपाली समय अनुसार साँझ ७ः४५ मा न्युक्यासलसँग खेल्दै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here