काबुल । तालिबान समूहले अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तीन सातापछि सरकार घोषणा गरेको छ । समूहका अनुसार मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुनेछन् ।
उपप्रधानमन्त्री अब्दुल गनी बरादर हुने समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका छन् । उनले भने, ‘हामीलाई थाहा छ लामो समयदेखि हाम्रा जनता सरकारका लागि प्रतीक्षारत छन् ।’ अब्दुल गनी बरादर तालिबान समूहका उपसंस्थापक पनि हुन् । उनी विगतमा अमेरिकासँग दोहामा भएको शान्तिवार्तामा सहभागी हुँदै आएका थिए । त्यसैगरी द्धितिय उपप्रधानमन्त्रीमा मुल्ला अब्दुल सलाम हनफीलाई नियुक्त गरिएको छ ।
अफगानिस्तानको रक्षामन्त्रीमा मुल्लाह याकुब र गृहमन्त्रीमा सराजुद्दिन हक्कानी नियुक्त भएका छन् । उनि हक्कानी नेटवर्कका प्रमुख पनि हुन । याकुव मुल्ला उमरका छोरा समेत हुन । हक्कानीको नाम अमेरिकी एजेन्सी एफबीआईको आतंकवादीको सुचीमा समेत छ ।
प्रधानमन्त्री नियुक्त गरिएका हसन अखुंदको दुई दिन पहिले मात्र प्रधानमन्त्री बन्ने चर्चा सुरु भएको थियो । हसन तालिबानको शक्तिशाली निर्णय लिने निकाय रहबारी शूरा या नेतृत्वको परिषदको प्रमुख थिए । उनि तालिबानको जन्मस्थल मानिने कान्दहार निवासी हुन भने तालिबानका संस्थापक समेत हुन । हसन धार्मीक नेता समेत हुन । उनि करिव २० वर्षदेखी शेख हैबतुल्ला अखुंजादाको नजिक रहेर काम गरेका थिए । अखुंजादाको इरानकोजस्तै अफगानिस्तानको सुप्रीम लिडर बन्न लागेका हुन ।
तालिबानको पछिल्लो सरकारमा उनि गवर्नर तथा मन्त्री थिए । त्यसका साथै तालिबानका संस्थापक एवंम् पूर्व सुप्रीम कमाण्डर मुल्ला उमरका सल्लाहकार समेत थिए । उनको नेतृत्वको सरकारलाई अन्तरिम सरकार भएको बताइएको छ ।
बरादरलाई प्रधानमन्त्री बन्न भने पाकिस्तानी खुफिया एजेन्सी आईएसआईले रोकेको आरोप छ । तालिबानले विदेशमन्त्रीमा अमीर खान मोत्ताकीलाई नियुक्त गरेको छ । नयां क्याविनेटमा अर्थमन्त्रीमा मुल्ला हिदायतुल्ला,कानुनमन्त्रीमा मौलवी अब्दुल हकीम शरिया र खुफियाको उपप्रमुखमा मुल्ला ताज मीर जावद नियुक्त भएका छन् ।
तालिनबान प्रवक्ता जबीहुल्लाह मुजाहिदले अहिलेको सरकार अन्तरिम सरकारको रहेको बताएका छन् । तालिबानले अगस्ट १५ मा काबुल कब्जा गरेको थियो । –बीबीसी