टिकटकमा समय बिताउने बढे, बन्यो सबैभन्दा धेरै हेरिने एप

काठमाडौं । अमेरिका र बेलायतका मानिसहरू युट्युबभन्दा बढी टिकटक हेर्ने गरेको पाइएको छ ।

एक नयाँ तथ्याङ्कले अमेरिका र बेलायतमा प्रयोगकर्ताहरूले युवा पुस्तामाझ निकै लोकप्रिय एप टिकटकमा खर्चिने समय युट्युबमा खर्चिनेभन्दा बढी भएको देखाएको हो । एपको अनुगमन गर्ने कम्पनी एप एन्नीको रिपोर्टअनुसार प्रति प्रयोगकर्ताले एपमा बिताउने औसत समय टिकटकको सबैभन्दा उच्च रहेको छ, जसले हाइ इङ्गेजमेन्टको सङ्केत देखाएको छ ।

तर, प्रयोगकर्ताले समग्र समय बिताउने एपमा युट्युब नै पहिलो स्थानमा रहेको छ । टिकटकको तुलनामा युटुबमा प्रयोगकर्ताको सङ्ख्या अत्यधिक रहेकोले सम्पूर्ण प्रयोगकर्ताले खर्चिने कुल समय युट्युबको अधिक रहेको हो ।

गुगल स्वामित्वको भिडियो जाएन्ट युट्युबका मासिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या करिब दुई अर्ब रहेको छ भने पछिल्लो तथ्याङ्क (सन् २०२०) अनुसार टिकटकका प्रयोगकर्ताको सङ्ख्या ७० करोड छ ।

एप एन्नीको उक्त रिपोर्ट एन्ड्रोइड एप प्रयोगकर्ताहरूको आधारमा मात्र लिइएको हो । साथै यसमा चिनियाँ प्रयोगकर्ताको सङ्ख्यालाई समावेश गरिएको छैन । चीनमा टिकटक डुइनको नामले चिनिन्छ र यो चीनमा धेरै प्रयोगकर्ता भएको मुख्य एपमध्येमा पर्छ ।

रिपोर्टअनुसार सामाजिक, सञ्चार, फोटो, भिडियो र मनोरन्जन एपहरूमध्ये, टिकटक सन् २०२० पछि विश्वव्यापी रूपमा सबैभन्दा धेरै डाउनलोड गरिएको छ ।

गत वर्षदेखि प्रयोगकर्ताले समय खर्च गर्ने एपको शिर्ष स्थानमा रहनको लागि टिकटक र युट्युबले प्रतिस्पर्धा भईरहेको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here