के हो निपाह भाइरस ? यस्ता छन् लक्षण र बच्ने उपाय

काठमाडौं । भारतको केरला राज्यमा देखिएको निपाह भाइसरको सङ्क्रमण नेपालमा समेत देखिन सक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सतर्क गराउँदै यसका लक्षण र रोकथामका उपायहरू सार्वजनिक गरेको छ ।

निपाह भाइरस पशुबाट मानिसमा सर्ने एक गम्भीर प्रकृतिको रोग लाग्ने भाइरसको सङ्क्रमण हो । यस भाइरस प्राकृतिक रूपमा फ्रूट ब्याट भन्ने प्रजातिको चमेरोमा पाइन्छ ।

यो सङ्क्रमित चमेराबाट सुँगुर, गाई, गोरूजस्ता जनावर हुँदै मानिसमा सर्छ । सङ्क्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा पनि सङ्क्रमण सर्न सक्छ ।

साथै, सङ्क्रमितको रगत, दिसा, पिसावसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि निपाह भाइरसको सङ्क्रमण सर्छ । निपाह भाइरस सङ्क्रमण भएका कोही व्यक्तिमा साधारण र कोहीमा श्वासप्रश्वाससम्बन्धी गम्भीर लक्षण देखिन सक्छ ।

यस्ता छन् लक्षण

– ज्वरो आउने
– टाउको दुख्ने
– मांसपेसी दुख्ने
– वाकवाकी लाग्ने
– टन्सिलाइटिस
– रिँगटा लाग्ने
– बेहोस हुने
– श्वासप्रश्वासमा समस्या देखिनेसमेत यसका लक्षणहरू हुन् ।

यस्ता छन् जोगिने उपाय

– फलफूल पखालेर खाने
– तरकारी सकेसम्म पकाएर खाने
– गाईवस्तुको गोठ र फार्मलाई सफा राख्ने
– मासु काट्दा र पकाउँदा पन्जा र मास्कको प्रयोग गर्ने
– सकेसम्म पानी उमालेर पिउने
– बेलाबेलामा साबुनपानीले हात धुने

भिडभाडमा जाँदा मास्क लगाउने जस्ता सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here