निपाह भाइरसको संक्रमणप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, २८ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको संक्रमणप्रति सचेत रहन आग्रह गरेको छ। मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको संक्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले भारतसँग खुला सीमा भएकाले यहाँ पनि फैलिनसक्ने भएकाले सचेत रहन आग्रह गरिएको बताए। भारतको केरला राज्यमा केही दिनदेखि निपाह भाइरसको संक्रमण देखिएको छ।

पौडेलका अनुसार नेपालमा अहिलेसम्म उक्त भाइरसका संक्रमित फेला परेका छैनन्। निपाह भाइरस एक प्रकारको पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको रोग लाग्ने भाइरस हो। यस भाइरस प्राकृतिकरुपमा ‘फूट ब्याट’ भन्ने प्रजातिको चमेरामा पाइन्छ।

निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने गर्दछ। संक्रमित चमेराबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा सर्ने गर्दछ। यस्तै‚ संक्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा, संक्रमित व्यक्तिको रगत, दिसा र पिसावसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि निपाह भाइरस सर्ने गर्दछ।

उक्त भाइरसका लक्षण ज्वरो आउने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिलाइटिस देखिने गर्दछ। यो रोग बढी संक्रामक पनि हुने गरेको छ।

निपाह भाइरसबाट बच्नका लागि फलफूल राम्रोसँग पखालेर मात्र खाने, तरकारी सकेसम्म पकाएर खाने, गाइबस्तुको गोठ र फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने, सकेसम्म पानी उमालेर मात्र पिउने, बेलाबेलामा साबुनपानीले हात धुने, भीडभाडमा जाँदा मास्क लगाउने गर्नुपर्दछ ।

प्रवक्ता पौडेलका अनुसार उक्त भाइरसबाट ४५ देखि ७५ प्रतिशत मानिसमा मृत्यु हुने जोखिम रहेको छ। विश्व स्वास्थ्य संगठनले निपाह भाइरसबाट सर्ने रोगलाई विश्वको १० प्राणघातक रोगमध्ये एक मानेको छ। उनले रोगको लक्षण देखिएमा उपचार गरिने बताए। संक्रमणको लक्षण देखिना साथ नजिकै स्वास्थ्य संस्थामा उपचार गराउन मन्त्रालयले आग्रह गरेको छ। रासस

के हो निपाह भाइरस ? यस्ता छन् लक्षण र बच्ने उपाय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here