अफगानिस्तानमा दुई तालिबान नेताबीच ‘चर्काचर्की’, कारण के ?

काठमाडौं । तालिबान नेताहरूबीच अफगानिस्तानमा नयाँ सरकारको संरचनाको विषयमा विवाद उत्पन्न भएको छ ।

राष्ट्रपति भवनमा उक्त लडाकु समूहका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर र एक मन्त्रीबीच चर्काचर्की परेको हो ।

बरादर सार्वजनिक रूपमा देखा नपरेकाले तालिबान नेतृत्वमा मतभेद रहेको अपुष्ट विवरण आएको थियो ।

तर, यसलाई औपचारिक रूपमा भने अस्वीकार गरिएको छ।

गत महिना तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गरेको थियो । त्यसपछि उक्त अतिवादी इस्लामिक समूहले देशलाई ‘इस्लामिक इमिरात’ घोषणा गरेको छ।

बरादर र हक्कानी लडाकु समूहका प्रभावशाली नेता एवं शरणार्थी मामिला हेर्ने मन्त्री खलिल उर(रहमान हक्कानीबीच चर्काचर्की भएको बताईएको छ ।

उनीहरूका समर्थकबीच पनि त्यहाँ झगडा भएको बताइएको छ ।

विवादको कारण के हो ?

विवाद नयाँ उपप्रधानमन्त्री बरादर अन्तरिम सरकारको संरचनासँग असन्तुष्ट भएसँगै सिर्जना भएको बताइएको छ ।

अफगानिस्तानमा तालिबानको जितको श्रेय कसलाई दिने भन्ने विषयमा विवाद सुरु भएको बताइएको छ ।

बरादरले आफूजस्ता व्यक्तिले कूटनीतिमा लगाएको जोडबल त्यसको कारण भएको ठानेको बताइएको छ ।

यद्यपि केही वरिष्ठ तालिबान नेताहरूले नेतृत्व गरेको हक्कानी समूहका सदस्यहरू र तिनका समर्थकहरू त्यस्तो सफलता युद्धबाट भएको बताउँदै आएका छन् ।

बरादर अमेरिकी राष्ट्रपतिसँग सीधा सम्पर्क गर्ने पहिलो तालिबान नेता हुन् ।

उनले सन् २०२० मा डोनल्ड ट्रम्पसँग टेलिफोन संवाद गरेका थिए ।

त्यसअघि उनले अमेरिकी फौज फिर्ता गर्ने विषयमा दोहा सम्झौतामा तालिबानका तर्फबाट हस्ताक्षर गरेका थिए । बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here