विश्वव्यापी रुपमै घट्न थाल्यो कोरोना संक्रमण

काठमाडौं, ११ असोज । विश्वमै कोरोना भाइरसको सङ्क्रमण कम हुँदै गइरहेको छ । केही दिनयता दैनिक सङ्क्रमण र त्यसबाट हुने मानवीय क्षति कम हुँदै गइरहेको हो ।

विश्वमा महामारी उत्कर्षमा पुग्दा दैनिक सात लाखभन्दा बढी सङ्क्रमित थपिने गरेका थिए । एक दिनमा कोरोनाका कारण १५ हजारभन्दा बढीको मृत्यु हुने गरेको थियो । तर केही दिनयता दैनिक सङ्क्रमण र मृत्युदर घट्दै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा तीन लाख २२ हजार सात सय १० जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या २३ करोड १५ लाख ७६ हजार छ सय ७५ पुगेको छ । सङ्क्रमितमध्ये २० करोड ९१ लाख ९७ हजार छ सय ८६ जना उपचारपछि निको भएका छन् ।

एकै दिन तीन करोड ३५ लाख सात सय ८२ जनाले कोरोनालाई पराजित गरे । हालसम्म विश्वमा एक करोड ८६ लाख १७ हजार चार सय ६५ जनाको उपचार जारी छ । उपचाररतमध्ये ९३ हजार दुई सय ६२ जनाको अवस्था चिन्ताजनक छ ।

पछिल्लो २४ घण्टामा विश्वमा चार हजार आठ सय ९४ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म विश्वभर ४७ लाख ६१ हजार पाँच सय २४ सङ्क्रमितको मृत्यु भइसकेको छ ।

कोरोना महामारीका कारण अस्तव्यस्त बनेका विभिन्न मुलुकको अवस्था सङ्क्रमण कम हुँदै गएपछि सामान्यतर्फ उन्मुख हुने देखिएको छ ।

नेपालसँग खुला सीमा रहेको छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा २७ हजार २२ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ३६ लाख ७८ हजार दुई सय ४३ पुगेको छ । तीन करोड २९ लाख २४ हजार चार सय २० जना उपचारपछि निको भइसकेका छन् ।

एकै दिन २९ हजार छ सय ५८ जना सङ्क्रमणमुक्त भए । भारतमा अहिले तीन लाख छ हजार पाँच सय ९८ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

महामारी उत्कर्षमा पुग्दा भारतमा दैनिक चार लाखभन्दा बढी सङ्क्रमित थपिने गरेका थिए । एक दिनमा कोरोनाका कारण छ हजार जनासम्मको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा दुई सय ७७ जनाको मृत्यु कोरोनाका कारण भयो ।

हालसम्म मृत्यु हुने भारतीय सङ्क्रमितको सङ्ख्या चार लाख ४७ हजार दुई सय २५ पुगेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here